पश्चिम नेपालका क्यान्सर बिरामीलाई अस्पतालसम्म पुग्न यातायातको सहज पहुँच दिलाउने उद्देश्यले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरबाटै यातायात सञ्चालन हुने गरी रुट निर्धारण गर्न निर्देशन दिएको छ ।
महासंघले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आबद्ध यातायात व्यवसायी संस्था, संघ, समिति, कम्पनी र प्रालिहरुलाई यस्तो व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
महासंघले अस्पतालसम्म पुग्ने यातायातको अभावमा क्यान्सरका बिरामीलाई अस्पताल पहिचान गर्न तथा त्यहाँसम्म पुग्न समस्या भइरहेको भन्दै अस्पताल परिसरलाई समेटेर रुट निर्धारण गर्न भनेको छ । त्यससँगै क्यान्सरका बिरामीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क यात्रा सेवा उपलब्ध गराउनसमेत यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।
तीनवटै प्रदेशका महासंघ संयोजकलाई पठाइएको परिपत्रमा आफ्ना प्रदेशमा आबद्ध यातायात व्यवसायी संघ, समिति तथा प्रालिहरुलाई अस्पताल परिसरबाटै यातायात सञ्चालन हुने गरी अनिवार्य रुट निर्धारण गर्न निर्देशन दिन भनिएको छ । महासंघले सम्बन्धित अस्पतालसँग समन्वय गरेर रुट तय गर्न र बिरामीका लागि निःशुल्क यात्राको व्यवस्था मिलाई त्यसको जानकारी महासंघलाई गराउन पनि प्रदेश संयोजकहरुलाई आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले क्यान्सर अस्पतालबाट आएको सहजीकरणसम्बन्धी पत्रका आधारमा महासंघमा आबद्ध यातायात व्यवसायीलाई सेवा विस्तारका लागि निर्देशन दिइएको बताए । उनका अनुसार अस्पतालको प्रस्तावलाई आत्मसात गर्दै तीनवटै प्रदेशका संयोजकमार्फत रुट निर्धारण र क्यान्सरका बिरामीका लागि निःशुल्क यात्राको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।
‘छिट्टै महासंघको निर्णय कार्यान्वयनमा आउनेछ,’ गौतमले दैनिक नेपालगन्जसँग भने, ‘पश्चिम नेपाललाई नै क्यान्सर उपचारमा योगदान गरिरहेको अस्पताललाई सहयोग गर्नु यातायात व्यवसायीहरुको पनि कर्तव्य हो ।’
महासंघले खजुरा क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई मात्रै नभई नेपाल–भारत सीमा नजिकका भारतीय क्यान्सर बिरामीलाई समेत उपचार सेवा दिइरहेको जनाएको छ । अस्पतालसम्म नियमित यातायातको पहुँच नहुँदा उपचारका लागि आउने बिरामीले अस्पताल खोज्नेदेखि त्यहाँ पुग्नेसम्म समस्या भोगिरहेको महासंघको भनाइ छ ।
‘अस्पताल परिसरबाटै सार्वजनिक यातायात सञ्चालन हुने गरी रुट तय भएपछि उपचारका लागि आउने बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ,’ खजुरामै रहेर पत्रकारिता गरिरहेका स्थानीय अगुवा शरण कर्माचार्यले दैनिक नेपालगन्जसँग भने ।
धार्मिक अनुष्ठानमार्फत निर्माण गरी संघीय सरकारलाई हस्तान्तरण गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विसं २०७२ देखि भरतपुर, चितवनदेखि पश्चिम नेपालतर्फका क्यान्सर बिरामीलाई उपचार सेवा दिँदै आएको छ । खजुरामा रहेको यो अस्पताल पश्चिम नेपालका क्यान्सर बिरामीका लागि उपचारको महत्वपूर्ण केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार, गत आर्थिक वर्षमा मात्रै अस्पतालले ४० हजारभन्दा बढी क्यान्सरका बिरामीलाई उपचार सेवा दिएको छ । उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएपछि अस्पतालले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने प्रयास गरिरहेको उनले बताए ।
‘बिरामीलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार अधिकतम प्रयासमा छ,’ डा. भट्टराईले भने, ‘अस्पतालका सेवाहरुलाई थप प्रभावकारी र बिरामीमैत्री बनाउँदै लगिनेछ ।’
क्यान्सर उपचारका लागि पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरामी आउने क्रम बढिरहेको अवस्थामा अस्पतालसम्म पुग्ने सार्वजनिक यातायातको सहज पहुँचलाई पनि उपचार सेवाकै महत्वपूर्ण पक्षका रुपमा हेरिएको छ । महासंघको परिपत्र कार्यान्वयनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानबाट खजुरा क्यान्सर अस्पताल पुग्ने बिरामीलाई यातायातको सुविधा सहज हुने अपेक्षा गरिएको छ ।






























