नेपालगन्जका गैरकानुनी रूपमा बालिकाहरूलाई स्पामा काम लगाउने गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका स्पामा छापा मारेर गैर कानुनी रूपमा काममा लगाइएका नाबालिकाहरूलाई उद्दार गर्दै सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
‘नेपालगन्जमा सञ्चालित केही स्पामा उमेर नपुगेका बालिकालाई गैरकानुनी रूपमा काममा लगाइएको सूचनाका आधारमा प्रहरी टोली खटेको थियो’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले भने, ‘त्यसक्रममा उमेर नपुगेका बालिकाहरूलाई काममा लगाउने स्पा सञ्चालकलाई नियन्त्रणमा लिएका छौं ।’
प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर स्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारू र नेपालगन्ज–२ न्युरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।






























