नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबार औपचारिक रूपमा कार्यभार सम्हालेको छ । भव्य समारोहबीच ओली नेतृत्वको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएर जिम्मेवारी सम्हालेको हो ।
निर्वाचन आयुक्त अधिवक्ता तीर्थराज ज्ञवालीले अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको शपथ गराए । त्यसपछि ओलीले संघका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यलाई शपथ गराए ।
शपथपछि संघका निवर्तमान अध्यक्ष टंकबहादुर धामीले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद हस्तान्तरण गरे । त्यस्तै निवर्तमान महासचिव भीमबहादुर रानाभाटले नवनिर्वाचित महासचिव विष्णु प्रसाद श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरे ।
संघको नयाँ नेतृत्व चयनका लागि भदौ ६ गते निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका थिए । संघको उद्योग उपाध्यक्षमा कमल कुमार कार्की र वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै महिला उपाध्यक्षमा रुपा ओझा सानु निर्वाचित भएकी थिइन् । महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा प्रदीप आचार्य र कोषाध्यक्षमा टीकामणि उपाध्याय निर्वाचित भएका थिए ।
कार्यसमिति सदस्यमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दराम जैसी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, नगेन्द्र शाही, शरदप्रसाद रिजाल र सुरजबहादुर भण्डारी निर्वाचित भएका थिए । सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेश जंग बन्जारा तथा एसोसिएट सदस्यतर्फ राजीव तलङ्गा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको कार्यक्रममा प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री मोहम्मद मो. इश्तियाक राई प्रमुख अतिथि थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद बादशाह कुर्मी र मिना श्रेष्ठ सहभागी थिए ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाढीपीडितको राहत तथा उद्दार केन्द्रीत आफ्ना धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लक्ष्मणराज पौडेलले पछिल्ला आर्थिक समस्याबारे आफ्ना विचार राखे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला उपसभापति ईश्वरी लामिछाने, कांग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, नेकपाका जिल्ला संयोजक दीपक जिएम, एमालेका भाष्कर काफ्ले दलका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थिति थिए ।
संघका निवर्तमान अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्षहरू अब्दुल वाहिद मन्सुरी, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी तथा जिल्ला बारकी अध्यक्ष पुनम श्रेष्ठलगायतले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।





























