पाठेघरको क्यान्सर विरुद्ध बाँकेका किशोरीहरूलाई खोप लगाइने भएको छ । बाँकेमा ६ हजार भन्दा बढी किशोरीलाई लक्षित गरी एचपीभी विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने भएको हो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले बाँकेका आठ वटै पालिकामा खोप अभियान र त्यसको तयारीबारेमा छलफल गरेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार खोप अभियानको सुरुवात विद्यालयबाट गरिनेछ । विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० बर्षका किशोरीलाई खोप लगाइने पौडेलले बताइन् ।
बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने विषयमा समेत छलफल भएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइन्छ । एचपीभी भाइरसका केही प्रकारले पछि गएर पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । किशोरी अवस्थामा, भाइरसको सम्पर्कमा आउनु अघि खोप लगाउँदा सबैभन्दा राम्रो सुरक्षा प्राप्त हुन्छ । यो रोकथामका लागि दिइने खोप हो ।






























