१ लाख ११ हजार १सय चौध रुपैयाँ सङ्कलन
रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपालगञ्ज उपमहानगरपालिका- १८ स्थित स्प्रिङ डेल एकेडेमीले रु. १,११,११४ (एक लाख एघार हजार एक सय चौध) सहयोग रकम प्रदान गरेको छ।
विद्यालय परिवारद्वारा संकलित उक्त रकम प्याब्सन बाँकेमार्फत सम्बन्धित राहत कोषमा हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी प्रतिनिधि , स्काउट प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको दुःखमा साथ दिने उद्देश्यले सहयोग संकलन गरिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सबैले एकताबद्ध भएर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको छ।





























