नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित ब्रिटिस इङ्लिश बोर्डिङ स्कुलमा विद्यार्थीलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्बर १९ को स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तनसँगै व्यक्तिगत सरसफाइ र स्वस्थ जीवनशैलीका विषयमा जानकारी दिइएको हो ।
विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थी सहभागी कार्यक्रममा किशोरावस्थामा देखिने परिवर्तनलाई स्वाभाविक रूपमा लिनुपर्ने र यस उमेरमा स्वास्थ्य तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिइएको थियो ।
कार्यक्रममा सि.अहेव किरण कुमार थारु र जनस्वास्थ्य अधिकृत सुनिल बज्राचार्यले सहजीकरण गरेका थिए। उनीहरूले किशोरावस्थामा शरीरमा आउने परिवर्तन, व्यक्तिगत सरसफाइ, स्वच्छ वातावरण, स्वस्थ जीवनशैली र विभिन्न स्वास्थ्य समस्याबाट बच्ने उपायबारे विद्यार्थीलाई जानकारी दिए ।
किशोरावस्थामा उचाइ र तौल बढ्ने, शरीरको बनावटमा परिवर्तन आउने, आवाज फेरिने, छालामा डन्डीफोर देखिने तथा शरीरमा रौँ पलाउनेजस्ता परिवर्तन सामान्य प्रक्रिया भएको उनीहरूले बताए । यस्ता परिवर्तनलाई असहज मान्नुको सट्टा सहज रूपमा स्वीकार गर्नुपर्ने विषयमा पनि विद्यार्थीलाई सचेत गराइएको थियो ।
यस उमेरमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक अवस्थामा समेत उतारचढाव आउन सक्ने भएकाले त्यसलाई बुझ्न आवश्यक रहेको कार्यक्रममा बताइएको थियो। आत्मविश्वास बढाउने, तनाव व्यवस्थापन गर्ने र सकारात्मक सोच राख्ने विषयमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । आफ्ना समस्या लुकाएर नराख्न र आवश्यक परे अभिभावक, शिक्षक वा स्वास्थ्यकर्मीसँग खुलेर कुरा गर्न उनीहरूलाई सुझाव दिइएको थियो ।
कार्यक्रममा किशोरीहरूको महिनावारी स्वास्थ्य र सरसफाइलाई समेत प्राथमिकता दिइएको थियो। महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, सुरक्षित र स्वच्छ सामग्रीको प्रयोग तथा त्यस्ता सामग्री नियमित रूपमा परिवर्तन गर्ने बानीबारे जानकारी दिइएको थियो। महिनावारीसँग जोडिएका भ्रम र गलत धारणाबाट मुक्त हुनुपर्नेमा पनि जोड दिइएको थियो ।
स्वास्थ्य समस्याबाट जोगिन दैनिक जीवनमै सरसफाइ र स्वस्थ व्यवहार अपनाउनुपर्ने सन्देशसमेत कार्यक्रममा दिइएको थियो। विद्यार्थीलाई नियमित रूपमा हात धुने, शरीर र वरपरको वातावरण सफा राख्ने तथा स्वस्थकर र पौष्टिक खाना खाने बानी बसाल्न सुझाव दिइएको थियो। पर्याप्त निद्रा र शारीरिक गतिविधिमा ध्यान दिन तथा कुनै स्वास्थ्य समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरिएको थियो ।
विद्यार्थी उमेरमै स्वास्थ्य, सरसफाइ र किशोरावस्थामा हुने परिवर्तनबारे सही ज्ञान हासिल गर्नु आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
’विद्यार्थीले कार्यक्रममा प्राप्त गरेको स्वास्थ्यसम्बन्धी ज्ञानलाई दैनिक जीवनमा व्यवहारमा उतार्न सके त्यसको सकारात्मक प्रभाव परिवार र समुदायसम्म पुग्छ,’ काफ्लेले भने ।
कार्यक्रममा सहभागी कक्षा ९ का विद्यार्थी रितेस पोख्रेलले स्वास्थ्य सचेतना कार्यक्रमबाट आफूले उपयोगी र व्यवहारिक जानकारी प्राप्त गरेको बताए। किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, विभिन्न सर्ने र नसर्ने रोग, व्यक्तिगत सरसफाइ तथा स्वस्थ जीवनशैलीबारे कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको उनको भनाइ थियो ।






























