गत बिहीबारदेखि बाँकेमा परेको निरन्तर झरीले जनजीवन प्रभावित भएको छ । झरीका कारण बाँकेका खोला, नदीमा जलस्तर बढेको छ, नदी तटीय क्षेत्रमा बासिन्दा त्रसित छन् भने बजार सुनसानको अवस्थामा पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार दिउँसो बाँकेको उढरापुर स्थित किरण नालाले खतराको जलस्तर पारेको सूचना शेयर गर्दै सतर्कताका लागि आव्हान गरेको थियो । निरन्तरको झरीपछि बाँकेको राप्तीनदीको जलस्तर पनि वृद्धि हुँदै गएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका रूपन ज्ञवालीले राप्ती नदीमा खतराको जलस्तर पार नगरेको बताए । ‘बाँकेका खोला, नदीमा जलस्तर बढेको छ, सतर्कता आवश्यक छ, आइतबार दिउँसो पछि जलस्तर घट्दै जाने अनुमान छ’, उनले भने, ‘शनिबार बाढीका कारण ठूलो क्षतिको खबर प्राप्त भएको छैन ।’
अविरल वर्षाका कारण बाँकेका किसान धान खेतीमा नोक्सानी हुनेमा चिन्तित छन् । तयार हुँदै गरेको धान निरन्तरको बर्षाले ढल्न थालेको किसानहरूले बताएका छन् ।
राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीका किसान लोकबहादुर चौधरीको करिब १० कठ्ठामा लगाइएको ‘६०६’ जातको मोटो धान खेतमै ढलेको बताएका छन् ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार वर्षाले पु¥याएको क्षतिको विवरण संकलन कार्य केही दिनमा सुरु गरिनेछ ।
बाँकेका व्यवसायीहरूले पनि निरन्तर बर्षाका कारण बजार, व्यवसाय प्रभावित भएको बताएका छन् ।






























