पश्चिम नेपालको पुरानो व्यापारिक केन्द्र नेपालगन्जलाई पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य र खेलकुदको बलियो हबका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजनासँगै त्यसलाई कार्यान्वयन गर्न सक्ने दूरदर्शी नेतृत्व आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणका कारण नेपालगन्ज केही पछाडि परेको महसुस भएको उनीहरूको भनाइ छ । सहरको विकासका लागि राजनीतिक नेतृत्व, निजी क्षेत्र, नागरिक समाज र सबै सरोकारवाला एकै ठाउँमा उभिएर साझा योजना बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
शनिवार कालपृष्ठ दैनिकको आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपालगन्जको समृद्धिका सम्भावनाहरू’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले नेपालगन्जका सम्भावना धेरै भए पनि योजनाको प्रभावकारी कार्यान्वयन चुनौतीका रूपमा रहेको बताए । उनीहरूले सुशासन, सहरी विकास, पर्यटन प्रवद्र्धन, खेलकुद र आर्थिक गतिविधिलाई एउटै योजनामा जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।
नेपालगन्जका पूर्व मेयर वरिष्ठ अधिवक्ता विजय गुप्ताले विकासका नाममा संरचना निर्माण भए पनि त्यसको पूर्ण उपयोग हुन नसकेको विषय उठाए । उनले लाखौं रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिए पनि रंगशालाको उचित र पूर्ण प्रयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
नेपालगन्जको आर्थिक तथा पर्यटकीय सम्भावनासँग जोडिएको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना कार्यान्वयनमा पटक–पटक अवरोध आउने गरेको गुप्ताले बताए । ‘नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना कार्यान्वयनमा सधैं अवरोध आउने गरेको छ,’ उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले सहरको समृद्धिका लागि अर्थतन्त्र, प्रविधि र सोचमै रूपान्तरण आवश्यक रहेको बताए। पर्यटकीय व्यवसाय तथा साना–ठूला उद्योगमार्फत आर्थिक उपार्जन बढाउन सकिने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विकासका योजना कागजमै सीमित हुँदा त्यसको प्रतिफल नागरिकले पाउन नसक्ने बताए । योजना कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच बलियो हातेमालो आवश्यक रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले समृद्धिको सपना पूरा गर्न व्यावसायिक पत्रकारिताको विकास जरुरी रहेको बताए। सही सूचना र व्यावसायिक पत्रकारिताले आर्थिक तथा सामाजिक गतिविधिलाई गति दिन सक्ने उनको भनाइ थियो।
कार्यक्रममा व्यवसायी विनोद अग्रहरीले सञ्चार क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने पत्रकारका लागि आर्थिक उपार्जन चुनौतीपूर्ण बन्दै गएको बताए। नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गरिराख्न सामूहिक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
‘इमान्दारिताको पत्रकारिता गर्दा अहिले आर्थिक उपार्जनमा कठिन चुनौती खडा भएको छ,’ कर्णले भने, ‘सञ्चार क्षेत्रमा देखिएको अप्ठ्यारो परिस्थितिलाई सम्बोधन गर्न सामूहिक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्छ। यस पेशामा नयाँ पुस्ताको आकर्षण कायम राख्नुपर्छ।’
वक्ताहरूले सही र सत्य सूचना प्रवाहले नेपालगन्जको पर्यटन र आर्थिक गतिविधिलाई समेत प्रत्यक्ष सहयोग पु¥याउने बताए। नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले स्वदेशी उत्पादनको खरिद–बिक्री र प्रवद्र्धनका लागि सञ्चारमाध्यमले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘स्वदेशी उत्पादनको खरिद–बिक्री तथा प्रवद्र्धन गर्ने वातावरण बनाउन मिडियाले पुलको भूमिका खेल्नुपर्छ,’ शर्माले भने।
लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले नेपालगन्जको दीर्घकालीन विकासका लागि सुशासन, सहरी विकास र समृद्धिको गुरुयोजना आवश्यक रहेको बताए। मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै नेपालगन्जमै उच्च शिक्षा तथा पीएचडी अध्ययनको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
सहरी विकास तीव्र गतिमा भइरहे पनि त्यसको दीर्घकालीन निकास पहिल्याउन नसके समस्या थपिँदै जाने कुर्मीले बताए। राप्ती र आसपासका क्षेत्रको समृद्धिसँग नेपालगन्जको विकासलाई जोड्नुपर्ने उनले बताए। कालपृष्ठ दैनिकले आर्थिक समृद्धिसँग जोडिएको सहकारी क्षेत्रलाई प्राथमिकता दिएर काम गरेकोमा धन्यवाद दिँदै स्थानीय सहरले आर्थिक विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए।
नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपालगन्जको प्रमुख पहिचान शिक्षा, स्वास्थ्य र खेलकुदसँग जोडिएको बताए। यी क्षेत्रमा रहेका समस्या समाधानका लागि राजनीतिक दल र नागरिक समाज एकताबद्ध हुनुपर्ने उनले बताए।
नेपालगन्ज म्याराथनका संस्थापक टी.एस. ठकुरीले नेपालगन्ज म्याराथन सहरको पहिचान परिवर्तन गर्न सक्ने महत्वपूर्ण आयोजना बन्ने सम्भावना रहेको बताए। खेलकुदलाई पर्यटन र सहरको ब्रान्डसँग जोड्न सके त्यसबाट नेपालगन्जले थप लाभ लिन सक्ने उनको भनाइ थियो।
नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओलीले नेपालगन्जवासीबीच एकताभन्दा विभाजनको प्रवृत्ति हाबी हुँदा अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे। विकासका लागि सबै क्षेत्रलाई समेट्ने साझा चौतारी आवश्यक रहेको उनले बताए।
सुशासनको क्षेत्रमा क्रियाशील अभियन्ता नमस्कार शाहले संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणले नेपालगन्ज केही पछाडि परेको महसुस भएको बताए। उनका अनुसार ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई नेपालगन्जको पहिचानसँग जोडेर व्यापक प्रचार गर्नुपर्ने आवश्यकता छ ।
‘गुरुयोजना बनाएर सुशासन कायम गर्दै सुरक्षित सहर निर्माण गर्न सके मात्र नेपालगन्ज पर्यटन, व्यापार, शिक्षा र स्वास्थ्यको बलियो हब बन्न सक्छ,’ शाहले भने ।
‘नेपालगन्जको विकासका लागि सबै क्षेत्र अट्ने साझा चौतारी चाहिन्छ,’ ओलीले भने, ‘यो सहरलाई जोगाउने र समृद्ध बनाउने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको छ।’
साहित्यकार एवम् उद्यमी ऋचा लुइटेलले सहरको समृद्धि नागरिक र व्यवसायीको व्यक्तिगत कर्मसँग पनि जोडिएको बताइन्। प्रत्येक नागरिक र व्यवसायीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरे मात्र समृद्धिको सम्भावना बढ्ने उनको भनाइ थियो।
नेपालगन्जको समृद्धिका सम्भावनाबारे छलफल गर्न साझा चौतारी र सहकार्यको आवश्यकता रहेको वक्ताहरूले बताए। राजनीतिक नेतृत्वदेखि व्यवसायी, पत्रकार, सामाजिक क्षेत्र, पर्यटन, शिक्षा र खेलकुद क्षेत्रसम्मका प्रतिनिधिबीच निरन्तर संवाद हुनुपर्ने उनीहरूको धारणा थियो।
नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रवद्र्धनका लागि ‘सिटी ब्रान्डिङ’को रणनीति तत्काल लागू गर्नुपर्ने बताए। त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने उनले बताए।
‘नेपालगन्जको पर्यटकीय प्रवद्र्धनका लागि सिटी ब्रान्डिङको रणनीति तत्काल लागू गर्नुपर्छ,’ सिग्देलले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर खबरदारी आवश्यक छ।’
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जको आर्थिक तथा पर्यटकीय विकासमा अभिभावकीय नेतृत्व लिनुपर्ने सुझाव पनि उनले दिए।
वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटरले सहरको भौतिक विकाससँगै नगरवासीको चेतनास्तर पनि फराकिलो हुनुपर्ने बताए। चिल्ला र चौडा सडक निर्माणले मात्र समृद्धि नआउने भन्दै उनले सोच र व्यवहार पनि त्यहीअनुसार फराकिलो बनाउनुपर्ने धारणा राखे।
‘समृद्धिका लागि नेपालगन्जको चिल्ला र चौडा सडकजस्तै मानसिकता पनि फराकिलो बनाउनुपर्छ,’ पिटरले भने।
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेकपाका नेता नवीन शर्मा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिव दीपक शाही, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम उपाध्याय कँडेल, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव भीम रानाभाट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका जेन्टल गौतम, नाटा बाँकेका अध्यक्ष डिल्ली रेग्मी र शिक्षाविद् किरण आचार्यलगायतले पनि नेपालगन्जको आर्थिक गतिविधि चलायमान बनाउन राजनीतिक नेतृत्वमा पारदर्शिता र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए।
कार्यक्रममा कालपृष्ठ दैनिकका पूर्व सम्पादक झलक गैरेले कालपृष्ठ दैनिकमा काम गर्दाको अनुभव सुनाए। उनले पत्रकारिता यात्राका क्रममा आफूले देखेका अनुभव र सञ्चार क्षेत्रका चुनौतीबारे धारणा राखे।
कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्माचार्यले नेपालगन्जलाई चलायमान बनाउने विषयलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिने बताए। समाजको समृद्धि र सहरको आर्थिक विकाससँग जोडिएका विषयलाई कालपृष्ठले निरन्तर उठाउने उनले बताए।
‘नेपालगन्जलाई चलायमान बनाउँदै समाजको समृद्धिका विषयमा कालपृष्ठले प्राथमिकता दिएर काम गर्नेछ,’ कर्माचार्यले भने।
कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्जको समृद्धिका चुनौती र सम्भावनाबारे राजनीतिज्ञ, पत्रकार, व्यवसायी तथा सामाजिक क्षेत्रका प्रतिनिधिले धारणा राखेका थिए। कालपृष्ठ दैनिकको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सहरको समृद्धिका लागि साझा दृष्टिकोण र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।





























