जुमा स्पोर्टस् क्लबले आयोजना गरेको व्यवसायी तथा पेशाकर्मीबीचको फुटसल प्रतियोगिताको उपाधि जुत्ता चप्पल व्यवसायी संघले जितेको छ । शनिवार भएको फाइनल खेलमा जुत्ता चप्पल व्यवसायीले खुद्रा व्यवसायी संघलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै जुत्ता चप्पल व्यवसायीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता खुद्रा व्यवसायी संघले ११ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
व्यवसायी तथा पेशाकर्मीलाई खेलमैदानमा उतार्ने उद्देश्यले नेपालगन्जमा शुक्रबारदेखि सुरु भएको ‘जुमा बिजनेस एन्ड प्रोफेसनल फुटसल प्रतियोगिता २०८३’ मा विभिन्न व्यवसाय तथा पेशामा आबद्ध आठ टोली सहभागी भएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितालाई व्यवसाय र पेशामा आबद्ध व्यक्तिबीच आपसी सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा अघि बढाइएको जुमा स्पोर्टस् क्लबका अध्यक्ष डा. उदयराज अधिकारीले बताए। उनका अनुसार फरक–फरक क्षेत्रमा काम गर्ने व्यवसायी तथा पेशाकर्मीलाई एउटै खेलमैदानमा ल्याउँदा आपसी चिनजान र सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्नेछ।
‘विभिन्न व्यवसाय र पेशामा संलग्न व्यक्तिलाई एउटै खेलमैदानमा ल्याएर आपसी सम्बन्धलाई थप बलियो बनाउने अवसरका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो,’ अधिकारीले भने, ‘व्यवसायी तथा पेशाकर्मीलाई खेलकुदसँग जोड्दै प्रतियोगितालाई आगामी दिनमा स्थापित गर्ने लक्ष्य क्लबले लिएको छ ।’
प्रतियोगिताको समापन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओली, जुमा स्पोर्टस् क्लबका अध्यक्ष डा. उदयराज अधिकारीलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कार र शिल्ड प्रदान गरेका थिए ।






























