दौडसँगै बिरुवा वितरण
दौडसँगै हरित अभियानलाई जोडिएको तेस्रो गौघाट ग्रीन रनमा आज शनिबार सात सय जना सहभागी हुने भएका छन् । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा आयोजना हुँदै आएको ग्रीन रनप्रति स्थानीयको आकर्षण बढ्दै गएपछि आयोजक उत्साहित बनेको छ ।
आयोजकले दौडमा सहभागी सबैलाई फिनिसर मेडलसँगै ताइवानी अम्बाको बिरुवा दिइने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ को सहकार्यमा हरेक वर्ष बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तरता दिँदै हरित अभियानलाई थप विस्तार गर्ने तयारी आयोजकको छ ।
आयोजक अध्यक्ष तथा गौघाट ग्रीन रनका परिकल्पनाकार टीएस ठकुरीले दौडलाई वातावरण संरक्षण र स्थानीय आयस्रोतसँग जोड्ने उद्देश्य रहेको बताए । ‘गौघाट ग्रीन रनको उद्देश्य दौड संस्कृतिको विकास, हरित अभियानमा योगदान र गाउँवासीलाई आयस्रोतसँग जोड्नु हो,’ तयारी पुरा भएको जानकारी दिंदै ठकुरीले दैनिक नेपालगन्जसँग भने ।
अध्यक्ष ठकुरीका अनुसार, यसपटकको दौडमा खजुरा गाउँपालिकाका विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र वृद्ध नागरिकसमेत सहभागी हुनेछन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रमुख डम्बर विक तुफान, वडा नम्बर २ का अध्यक्ष धनराम ओली र विश्वकीर्तिमानी धावक हरि रोकायको उपस्थितिमा दौड आयोजना हुने भएको छ ।
छोटो समयमै गौघाट ग्रीन रनले लोकप्रियता हासिल गर्दै गएकोमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भिम ओलीले उत्साह व्यक्त गरे । उनले ग्रीन रनले स्थानीयस्तरमा दौडप्रतिको रुचि बढाउन सहयोग गरिरहेको बताए ।
धारा नेपालगन्ज म्याराथनसँग भगिनी इभेन्टका रूपमा जोडिएको गौघाट ग्रीन रनलाई यस वर्ष थप व्यापक बनाउने प्रयास गरिएको छ । धारा नेपालगन्ज म्याराथनलाई यसै वर्ष वल्र्ड रनिङबाट एम्स सोसल अवार्डसमेत प्रदान गरिएको छ । यही सम्बन्ध र अभियानलाई स्थानीयस्तरसम्म विस्तार गर्दै ग्रीन रनमार्फत दौड र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।






























