आफ्नै घरमा बसेर मोबाइल मार्फत पाँच हजारबाट सुरु गरिएको अनलाइन कारोबारलाई युवा उद्यमी ऋचा लुइटेलले अफलाइन परिणत गर्दै ३० लाख लगानी गरेकी छन् । तीन जनालाई रोजगारी समेत दिएर ‘आर्टिफिसियल ज्वैलरी’ शोरुम सञ्चालनमा ल्याएकी लुइटेलले बुधबार आफ्नो जन्मोत्सव पारेर अफलाइन उद्घाटन गरेकी हुन् ।
जेडी कलेक्सन एनपीजे नाम दिएको नक्कली सुनका गहना पसल बुधबार लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले उद्घाटन गरिन् । महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष साबित्रा पोखरेल बस्नेत, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, बाँके काँग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी लगायतले लुइटेलको अग्रसरतालाई सराहना गरे ।
‘लाखौं खर्च गरेर सुनका गहना लगाउँदा भन्दा निकै सस्तोमा आकर्षक नक्कली सुनका गहनाले आनन्द दिन्छ’, आर्टिफिसियल ज्वैलरी तर्फ महिलाहरूको आकर्षण बढेकाले अनलाइनसँगै अफलाइन कारोबार सुरु गरेको जानकारी दिंदै जेडी कलेक्सनका सञ्चालक लुइटेलले दैनिक नेपालगन्जसँग भनिन्, ‘सुनका गहनाका लागि जोखिम उठाउनु भन्दा आर्टिफिसियल ज्वैलरी नै अबको महिला प्राथमिकता हुनुपर्छ ।’





























