खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले ऐन, कानुन विरुद्धका सेवामूलक फर्म तथा कम्पनीहरूलाई कारवाही गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आ.व.को हालसम्म कानुन तथा मापदण्ड विपरितका पाँच वटा कम्पनी तथा फर्महरू विरुद्ध मुद्दा प्रक्रियामा गएको सूचना अधिकारी रामहरी लामिछानेले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले सोमबार मात्रै बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रंग राखी बनाएको र होटल फोहर गरेको कसुरमा नेपालगन्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटल बिरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
उक्त होटलमा गत चैत्र १८ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालय सहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो । अनुगमनमा क्रममा बिस्मिल्ला केटर्स चिकन शोर्मा एण्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनि दर्ता भएको उक्त होटलको सरसफाई र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रंगको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।
‘स्थलगत अनुगमन निरीक्षण गर्दा विर्यानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्याधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, नन फुड ग्रेड लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको फेला परेको थियो’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अधिकृतले मुद्दा दर्ता गरेपछि भने, ‘बिरयानी र कवाफमा सेन्थेटिक फुड कलर प्रयोग गरेको, भण्डारण कक्ष अत्यन्त फोहोर रहेको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको थियो ।’ उक्त मुद्दाको अनुसन्धान खाद्य निरिक्षण अधिकारी रामहरी लामिछाने गरेका थिए ।
त्यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बैशाख १४ गते गोल्डेन प्रशधित पिउने पानी उद्योग बिरुद्ध समेत अनुमति नलिई तथा मापदण्ड पालना नगरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।
‘चालु आ.व.को हालसम्म कार्यालयले पाँच वटा मुद्दा दायर गरिसकेको छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका सूचना अधिकारी रामहरी लामिछानेले भने ।
‘कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र दाना ऐन २०३३ बमोजिम अनुगमन गर्ने, नमूना संकलन तथा परिक्षण गर्ने र ऐन बिपरित कार्य गर्नेलाई कारवाही गर्ने लगायतका क्रियाकलाप गर्दै आएको छ’, कार्यालय प्रमुख प्रशान्त पोखरेलले भने । कार्यालयका अधिकृत एकराज बुढाथोकीले खाद्य ÷ दाना उद्योग, बजार, होटल रेष्टुरेन्ट तथा मिठाई पसल अनुगमन, खाद्य प्रशोधन, पोषण र स्वच्छता तालिम, उपभोगता सचेतना कार्यक्रम, प्रशिक्षण, आकस्मिक, नियमित तथा संयुक्त बजार अनुगमन, खाद्य प्रविधि सम्बन्धि ट्रायल परिक्षण, अनुसन्धान, प्रयोगशाला सेवा, परामर्श सेवा लगायतको कार्य कार्यालयले गर्दै आएको जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आ.व.को वैशाखसम्म ७५ वटा खाद्य नमूना संकलन गरेकोमा प्रतिकुल ४ वटा भेटिएका थिए । कार्यालयका सूचना अधिकारी लामिछानेका अनुसार, खाद्य स्वच्छता सर्भिलेन्सका लागि नमूना संकलन १ सय ६८ वटा गरिएको थियो । बैशाख सम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन ४ वटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन १ सय १० वटा, दाना उद्योग अनुगमन ४ वटा गरेको बताएका छन् ।
त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बैशाखसम्म १ हजार ९ सय ४२ वटा खाद्य नमूना विश्लेषण, ९७ वटा दाना नमूना विश्लेषण, तरकारी तथा फलफुलको विषादी परीक्षण २ सय ९ वटा, उत्पादन बिक्री तथा रोक्का २ वटा गरेको तथा राजश्व संकलन २१ लाख ६९ हजार ३ सय ७३ रूपैयाँ गरेको छ ।