भारतमा कोडिभ संक्रमित फेला पर्न थालेपछि नेपाल प्रवेश नाकामा त्यसको परीक्षण थालिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, केरला, गुजरात, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेश (लखनउ)मा कोभिडका सक्रिय बिरामी फेला परेका छन् । भारतीय सञ्चारमाध्यम आजतकको पछिल्लो ८ जुनको रिपोर्ट अनुसार ६ हजार बढी कोरोना सक्रिय बिरामी देशभर फेला परेका थिए । उक्त समयको २४ घण्टामा ३ सय ७८ सक्रिय संक्रमित थपिएको भारतमा ८ जुनसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३३ पुगेको थियो भने ६ जनाको मृत्यु भएको थियो ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा नेपाल भित्रिनेको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाका संक्रमण आशंका गरिएको छ । ‘एन्टिजेन परीक्षणमा बर्दिया र कालिकोटका एक÷एक जनामा कोभिड आशंका गरिएको हो’, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले भने, ‘भारतबाट आउनेमा निगरानी थालिएको छ, आशंका लागेकाको स्वास्थ्य परीक्षण भैरहेको छ ।’ नाकाबाट भित्रिने सबैको परीक्षण नभएपनि बिरामी भएकाहरूको परीक्षण थालिएको हो । ‘कोराना आशंकित दुई जनालाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पठाइएको छ’, श्रेष्ठले भने ।
नेपालगन्ज नाकामात्रै होइन सुदूरपश्चिमको गड्डा चौकी भएर भित्रिने एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान गठ्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । हेल्थ डेस्कका इन्चार्ज विशाल भट्टका अनुसार भारत उत्तराखण्डको हल्द्वानीबाट आएका ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनमा ज्वरोको लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।
नेपाल–भारत नाकामा एन्टिजेन किटको अभावका कारण लक्षण देखिएको मात्रै परीक्षण गर्न थालिएको हो । एन्टिजेनमा कोरोना पुष्टि भएपनि पीसीआर भने गरेको पाइँदैन ।
यसैबीच, लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी लगायतले नेपाल भारत सिमानामा रहेको बाँके जिल्लाको जमुनाहा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू सँग बुधबार छलफल गरेका छन् । उनीहरूले त्सेवाको अवस्था र सेवाको प्रभावकारिताको लागि छलफल तथा अनुगमन गरेका हुन् ।
स्वास्थ्य सचिव श्रेष्ठले स्वास्थ्यकर्मीहरूसँगको छलफलमा रूपैडिया नाकाबाट नेपाल भित्रने यात्रीहरूको स्वास्थ्य अबस्था जाँच गरि सरुवा रोग लागेका बिरामीहरूलाई आइसोलेन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नु पर्ने बताइन् । उनले भारतबाट सरुवा रोग रोक्न महत्वपूर्ण भूमिका हुने र त्यसका लागि स्वास्थ्यकर्मीहरूले इमान्दारीतापूर्व सेवा प्रदान गर्नु पर्ने बताइन् । सोको ब्यबस्थापनमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने सचिव श्रेष्ठले प्रतिबद्धता जनाइन् ।
त्यस्तै निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्राको क्रममा नेपाल भित्रनबाट रोक्न हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूको जिम्मेवारी हुने भएकोले तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए ।
त्यसक्रममा स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ र हेल्थ डेस्कका १२ जना स्वास्थ्यकर्मीहरू सहभागी थिए ।