शब्दहरूको सुगन्ध र भावनाको लयले भरिएको वातावरणबीच उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदबको ५ सय ९८औँ श्रृंखलाको तरही मुशायरा गोष्ठी नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा शनिवार आयोजना गरिएको छ ।
‘राजÞ–ए–दिल अब के सरेआम छुपाया जाए’ भन्ने मिसरा–ए–तरहलाई आधार बनाएर शायरहरूले आफ्ना गजल र सिर्जनामार्फत मनका तह तहका भाव उजागर गरेका हुन् ।
कार्यक्रम सुरु भएदेखि नै सभाहलमा शायरीको मिठास फैलिएको थियो । प्रत्येक गजल प्रस्तुतिसँगै प्रेम, वेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिको बहुरंगी संसार झल्किएको देखिन्थ्यो । श्रोताहरू मौन भएर शब्दको गहिराइमा डुबिरहेका थिए भने शायरीले वातावरणलाई भावनात्मक लयमा बाँधिरहेको थियो ।
वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’ को अध्यक्षतामा भएको कार्यक्रममा अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथि र हयात नेपाली विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा शायरहरूले क्रमशः मञ्चमा आएर आफ्ना सिर्जना प्रस्तुत गरेका हुन् । मुस्तफा अहसन कुरैशी ‘अहसन’, अब्दुल लतीफ ‘शौक’, सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, हयात नेपाली, इस्माइल अन्सारी, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, आसिम सरवर, शाहिदा शाह ‘वाहिदी’ र जियाउल हक हल्वाई लगायतका शायरहरूले गजल वाचन गरेका थिए ।
प्रमुख अतिथि अब्दुल लतीफ ‘शौक’ ले गुल्जार–ए–अदबको निरन्तर साहित्यिक यात्राप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘गुल्जार–ए–अदबले लामो समयदेखि साहित्यको सेवा गर्दै आएको देख्दा खुशी लाग्छ । यहाँका शायर तथा साहित्यप्रेमी सबैलाई बधाई छ । यस्ता कार्यक्रमहरूले उर्दू शायरी र साहित्यलाई अझ जीवन्त बनाउँछन् ।’
उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
गुल्जार–ए–अदबले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ। निरन्तर चलिरहेको यस साहित्यिक यात्राले नेपालगञ्जमा उर्दू साहित्यको उपस्थिति अझ सशक्त बनाएको साहित्यप्रेमीहरूको धारणा छ ।
कार्यक्रममा बब्बु फारुकी र राशिद कमाल लगायतको विशेष उपस्थिति रहेको थियो । सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।





























