बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले वर्तमान सरकार बाँके र नेपालगन्जप्रति पूर्वाग्रही रहेको बताएका छन् । उनले नेपालगन्जलाई मागअनुसारका बजेट मात्रै होइन योजनामै समावेश गर्न पूर्वाग्रही साेंच देखाएको बताएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को आइतबार आयोजित वडा भेलामा प्रमुख अतिथिका रुपमा उपस्थित पूर्वमन्त्री राईले आफू पटकपटक मन्त्री हुँदा कहीँ कतै पनि पूर्वाग्रही नभएको प्रसङ्ग राख्दै वर्तमान सरकार भने बजेट कटौती तिरै लागेर अगाडि बढिरहेको गुनासो गरे ।
सांसद राईले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर लाई देवभूमि योजनाभित्र राखेर अगाडि बढाउन आफूले गरेको प्रस्तावलाई सरकारले समेटेकोमा आक्रोश जनाए ।
‘अहिले सरकारले नेपाललाई संसारभरी देवभूमिको रुपमा परिचित गराउने भन्ने नीति तथा कार्यक्रम अहिलेको नयाँ सरकारले ल्याएको थियो’, पूर्व मन्त्री राईले भने, ‘त्यो देवभूमि अन्तर्गत जनकपुरको सीता माताको मन्दिर, पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलाई राख्यो तर भगवति माताको मन्दिर बागेश्वरीलाई बेवास्ता गर्यो ।’ प्राचिन र आस्था भएको बागेश्वरी मन्दिरलाई देवभूमिका रुपमा नराखिनु दुर्भाग्य भएको उनले बताए ।





























