शम्भु प्रसाद थारु
बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ उढरापुरमा बनेको शितभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार सञ्चालन गर्न सहकारी वा फर्म सम्पर्कमा नआउँदा पालिकालाई चुनौती थपिएको छ ।
एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि सहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही पनि नआएपछि सञ्चालन गर्न चुनौती थपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादर पौडेलले बताए । उनी भन्छन्, ‘हामीले शितभण्डार सञ्चालनका लागि २ पटक प्रस्ताव अवहानका लागि सुचना निकालेका छौं, तर कुनै पनि व्यक्ति, सहकारी वा फर्म प्रस्ताव लिएर आएनन् ।’ अब आगामी आर्थिक बर्ष २०८३÷८४ मा तेस्रो पटक प्रस्ताव आवहानका लागि सुचना निकाल्ने तयारी छ, कोही पनि नआए गाउँपालिका आपैmले शितभण्डार सञ्चालन गर्ने उनले बताए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा शित भण्डार सञ्चालनका लागि ५० लाख बजेट समेत बिनियोजना गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि सारेको शीत भण्डार निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । शितभण्डारमा विद्युतीकरण र सामान्य मर्मतको काम मात्रै बाँकी रहेको छ । सञ्चालनको प्रक्रिया अगाडी बढेपछि पालिकाले विद्युतीकरण र मर्मत गरेर दिने गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा क्षेत्रफलमा बनेको उक्त भण्डारको निर्माण गरिएको छ । शित भण्डार सञ्चालनमा आएपछि स्थानीय किसानलाई आफना उत्पादन राख्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए ।
शित भण्डार २०७८ सालबाट निर्माणको काम सुरु भएको थियो । धेरै चरणमा म्याद थप भएर निर्माण कम्पनीले २ बर्ष अगाडी निर्माणको काम अन्तिम चरणमा पु¥याएको थियो । अहिले पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको छैन ।
उक्त शितभण्डार निर्माणका लागि लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सर्शत अनुदान अन्र्तगत ५ करोड र खजुरा गाउँपालिकाले ४ करोडको लागतमा निर्माण भएको छ । गाउँपालिका भित्र र जिल्लाका अन्य पालिकाका किसानहरूको तरकारी, फलफुल र अन्य कृषि उपजको खेर जाने अवस्था रोक्ने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले शितभण्डार निर्माण गरिएको हो ।
शित भण्डार सन्चालनमा आउने कुराले स्थानीय कृषक उत्साहित भएका थिए । किसानलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्वि गर्न शीत भण्डारले सहयोग पुग्ने खजुरा गाउँपालिकाका अगुवा कृषक गेहेन्द्र धिताल बताउँछन् । तर निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआउँदा किसानहरू निराश भएको उनले बताए ।
‘शीत भण्डारमा कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने थियो । किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायत वस्तुहरू वातानुकुलित राख्ने व्यवस्था हुने थियो, हाम्रा उत्पादनहरू खेर जाने डर हुने थिएन’, उनले भने ।
शीत भण्डार नहँुदा र खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने अवस्था छ । यसकारण वर्षभरि उत्पादन गरेको आफ्नो कृषि उत्पादन भण्डारण गर्ने स्थान पाए मात्रै पनि व्यावसायिक कृषि कर्म गर्ने ईच्छा भएका किसानका लागि केही सहजता हुने धितालले बताए ।
खजुरा गाउँपालिका वडा नं. ७ उढरापुरका किसान आलम खानले व्यवसायिक रूपमा आँप खेती गर्दै आएका छन् । तर शितभण्डार सञ्चालनमा नआउँदा उत्पादनबाट लगानी अनुसारको आम्दानी लिन नसकी खेर गैरहेको बताए । शित भण्डार सञ्चालनमा आएमा फलफुल तथा तरकारी भण्डारण गरी कृषि उत्पादनबाट मेहनत अनुसारको आम्दानी गर्न सकिने भएकाले शितभण्डार छिटो सञ्चालन गर्नु पर्ने उनको माग छ ।
खजुरा गाउँपालिकाको नौ हजार पाँच सय ९९ हेक्टर जमिनमा कृषिजन्य उत्पादन हुँदै आएको छ । बाँकेको खजुरामा मात्रै नभई लुम्बिनी प्रदेश नै कृषि उपजका लागि चिनिएको प्रदेश हो । तर, यहाँका अधिकांश कृषिजन्य उत्पादनहरू उपयुक्त वातावरणमा भण्डारण गर्न नसकिएकै कारण खेर गएको अवस्था छ । यसै अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशले कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादित वस्तुको उचित भण्डारणको लागि प्रदेशका विभिन्न स्थानहरूमा शित भण्डार निर्माण गरेको छ ।





























