नेपालगन्ज–१८ कारकाँदोस्थित स्प्रिङ डेल एकेडेमीमा दोस्रो नमुना ’प्रतिनिधि सभा’ अभ्यास गरिएको छ । प्रतिनिधि सभा अभ्यासमा विद्यालय सम्बद्ध क्लबका अध्यक्ष जयन्द्र सिजापतिको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका ७७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी लाल यादवको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी अन्य अतिथि तथा विद्यार्थीहरूले देखाएको संसदीय मर्यादा, अनुसन्धान र उत्कृष्ट प्रस्तुति प्रशंसनीय रहेको कुरा पनि यादवले बताए । सभामुखको भूमिका निर्वाहमा रहेकी हिना खड्का र मुख्य अतिथी तथा वक्ता यादव रहेको उक्त कार्यक्रममा शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समिति , पूर्वाधार विकास समिति , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति र कृषि तथा प्राकृतिक स्रोत
समितिमा विधेयक निर्माण तथा छलफल भएको कुरा पनि यादवले जानकारी दिए ।
विद्यार्थीहरूमा देशको संसदीय प्रणाली र कानुन निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस दोस्रो नमुना सभाका मुख्य संसदीय एजेन्डाहरू र बेलायती संसदीय अभ्यास लगायत अमेरिकन राष्ट्रपतिय प्रणालीको पूर्ण अभ्यास गरेका छन् । उक्त नमुना संसद् बैठकमा विद्यार्थीहरूले वास्तविक संसद्मा जस्तै देशका मुख्य एजेन्डाहरूको कुशलतापूर्वक अभ्यास गरेका छन् । सोही क्रममा नयाँ कानुन निर्माण र विधेयकमाथि दफावार छलफल, आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक कार्यविधि, जनसरोकारका समसामयिक मुद्दा उठाइने शून्य समय तथा विशेष समय, र सरकार गठन एवं निगरानीका लागि विश्वासको मत लिने जस्ता महत्वपूर्ण संसदीय कार्यविधिहरूमाथि विद्यार्थीहरूले गहन र जीवन्त बहस प्रस्तुत गरेका छन् ।
यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा मुख्य रूपमा नेतृत्व, सार्वजनिक भाषण (तर्कपूर्ण बोल्ने कला), लोकतान्त्रिक र कानूनी चेतना, आलोचनात्मक सोच तथा समूहकार्य र सहमति निर्माणको क्षमता विकास गर्ने कुरा क्लबका अध्यक्ष जयन्द्र सिजापतिले जनाएका छन् । उनका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमहरू लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि आयोजना गर्ने उदेश्य रहेको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी लाल यादवले विद्यार्थीहरूको अभ्यासको प्रत्यक्ष अवलोकन गर्दै उच्च प्रशंसा गरेका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई देशको संसदीय व्यवस्था, कानुन निर्माण र कूटनीतिक बहसको वास्तविक अनुभव दिने कुरा मन्त्री यादवले बताएका छन् । साथै उक्त विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालयले यसअघि पनि यस्ता कार्यक्रमको अभ्यास गराएको र यसलाई निरन्तरता दिँदै दोस्रो संस्करण गर्नु अत्यन्तै प्रशंसनीय रहने कुरा पनि जनाए ।
सांसद, सभामुख र मन्त्रीको भूमिकामा देखिएका विद्यार्थीहरूले देखाएको संसदीय मर्यादा र गहिरो अनुसन्धानको कार्यक्रममा उपस्थित मुख्य अतिथि, उक्त विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले खुलेर प्रशंसा गरे ।































