नेपालगन्ज पर्यटन परिषद्ले भारतबाट नेपाल भित्रिने प्रमुख प्रवेशद्वार जमुनाहा नाकामा सरसफाइ गरेको छ । ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर परिषद्को संयोजनमा आइतबार बिहान नाकाको सरसफाइ गरिएको हो ।
नेपालगन्ज भित्रिने पर्यटकले पहिलोपटक देख्ने स्थान सफा र व्यवस्थित होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताए । उनका अनुसार, सीमा नाकाबाट आउने पर्यटकलाई स्वच्छ वातावरणमा स्वागत गर्नु पर्यटन प्रवद्र्धनकै एउटा पक्ष हो ।
‘भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिने भएकोले उनीहरूलाई सफा र स्वच्छ वातावरणमा राम्रो स्वागत गर्न पाएमा त्यसबाट सकारात्मक प्रभाव पर्ने भएकाले सरसफाइ कार्यक्रम गरिएको हो,’ न्यौपानेले दैनिक नेपालगन्जसँग भने ।
उनले नेपालगन्ज भित्रिने पर्यटकलाई सफा वातावरण दिनु सबैको साझा जिम्मेवारी भएको बताए । पर्यटकको पहिलो सम्पर्क हुने सीमा नाकाबाटै सकारात्मक सन्देश दिन सकिने उनको भनाइ छ ।
सरसफाइपछि सीमा नाकामा खटिने सुरक्षाकर्मीलाई भारतबाट आउने पर्यटकसँग राम्रो र सम्मानपूर्ण व्यवहार गर्न पनि आग्रह गरिएको थियो । पर्यटकसँगको व्यवहारले नेपाल र नेपालगन्जप्रतिको उनीहरूको धारणा निर्माण हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिएको न्यौपानेले बताए ।
सरसफाइ कार्यक्रममा नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीसहित सुरक्षाकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । नेपालगन्ज पर्यटन परिषद्को संयोजकत्वमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स बाँके च्याप्टर, होटल संघ नेपाल बाँके, होटल व्यवसायी संघ बाँके नेपालगन्ज लगायतको सहकार्यमा कार्यक्रम गरिएको हो ।
परिषद्ले जमुनाहा नाकाको सरसफाइलाई पर्यटन प्रवद्र्धनसँग जोड्दै नेपालगन्ज हुँदै आउने पर्यटकलाई बाँकेसहित पश्चिम नेपालका विभिन्न पर्यटकीय गन्तव्यसम्म पु¥याउने लक्ष्य राखेको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलका अनुसार, भारतबाट अधिक पर्यटक नेपाल भित्र्याएर उनीहरूलाई बाँके, बर्दियालगायतका जिल्लासँगै स्वर्गद्वारी, रारा ताल र मानसरोवरसम्म पु¥याउने परिषद्को लक्ष्य छ ।






























