बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसी पुरस्कृत भएका छन् ।
७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोह बीच गृह मन्त्री सुदन गुरुङ्गले जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ बाट पुरस्कृत गरेका हुन् ।
कार्यक्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यावसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पु¥याउनुका साथै सेवाबाट निवृत्त पश्चात पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धिमा निरन्तर योगदान पु¥याउनुभएका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए ।
गृहमन्त्री गुरुङ्गले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई ‘प्रहरी व्याटन २०८३’ प्रदान गरे ।
गृहमन्त्री गुरूङले ईलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायव निरीक्षक निवन्ध बहादुर बुढालाई ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ तथा प्रहरी चौकी कोठियाघाट बर्दियाका प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी चौकी जोलजिवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरे ।
गृहमन्त्री गुरूङले कैलाली धनगढी उपमहानगरपालिका–१० का अमर प्रहरी स्वर्गीय प्रहरी जवान पदम बहादुर साउदको छोरा विप्लब साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार राम बहादुर साउदकी छोरी रन्जना साउदलाई ‘अच्युत–मिना अमर प्रहरी पुरस्कार’ तथा बैतडी शिवनाथ गाउँपालिका–२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका–५ का अमर प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई ‘अच्युत–मिना छात्रवृत्ति’ प्रदान गरेका थिए । साथै उनले नुवाकोट विदुर नगरपालिका–११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका–६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई ‘मोती कला मिथिला अमर प्रहरी छात्रवृत्ति’ प्रदान गरे ।
समारोहमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए । त्यस्तै, “प्रहरी दर्पण २०८३” को लोकार्पण एवम् नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको पुस्तिका तथा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरूको सम्झनामा तयार पारिएको “प्रहरी स्मारिका २०८३” को लोकार्पण समेत गरेका थिए ।






























