पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. वेदवारज केसीलाई नेपालगन्जमा शनिवार स्वागत सम्मान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले साहित्यिक कार्यक्रमबीच प्रा.डा. केसीलाई स्वागत सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले प्रा.डा. केसीको व्यक्तित्व चर्चा गरे ।
वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कवि नरेन्द्र देवकोटाको अनुभूति कवितासङ्ग्रहको विमोचन एवं समीक्षा गरिएको थियो । समालोचक तिमिल्सिनाले कृति समीक्षा गरे । सोहीबीच समाजको मुखपत्र दौँतरी साहित्यिक पत्रिकाको २८ औँ अङ्क सार्वजनिक गरिएको थियो ।
नेपाल राष्ट्रनिर्माणका नायक तथा राष्ट्रिय एकीकरण अभियानको सूत्रपातकर्ताका रुपमा पृथ्वीनारायण शाहको जन्मजयन्ती पनि सोही कार्यक्रममा मनाइएको अध्यक्ष बस्नेतले जानकारी दिए । संस्थाका सचिव प्रभात सुवेदीले सहजीकरण गरेको कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले पनि आफ्ना विचार व्यक्त गरेका थिए ।