संस्थागत विद्यालयहरूको संगठन प्याब्सनको लुम्बिनी प्रदेश समितिका लागि बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले सचिव पदमा दाबेदारी गरेका छन् ।
तीन दशकदेखि शिक्षा क्षेत्रमा निरन्तर क्रियाशिल रावतको जिल्ला प्याब्सन कार्यकाल भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक गतिविधिका दृष्टिले उत्कृष्ट मूल्यांकन गरिएको थियो ।
२०३४ सालदेखि प्याब्सनमा आबद्ध रही सदस्य, कोषाध्यक्ष सचिव हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका रावत २०७८ सालमा प्याब्सन कोहलपुरको अध्यक्ष रहँदा केन्द्रीय प्याब्सनबाट सर्वोत्कृष्ट अध्यक्षको उपाधीबाट सम्मानित भएको स्मरण गर्दै रावत भन्छन्, ‘स्वभाविक रूपमा प्याब्सन प्रदेशमा सचिवको दाबेदारी हो ।’ उनले प्याब्सनको अध्यक्ष रहँदा कार्यालय भवन, प्याब्सन शिक्षा मन्दिर निर्माण गर्नुका साथै २ हजार बढी शिक्षकलाई छोटो समयको विभिन्न तालिम र विद्यार्थीहरूको आन्तरिक प्रतिभा विकासका लागि दर्जनौं अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको बताए ।
‘अहिलेसम्मको यो अनुभवलाई प्रदेश प्याब्सन मार्फत यहाँका १२ वटै जिल्लामा बिस्तार गर्न चाहन्छु’, प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड स्थापना, ३ सय बढी बाँकेका शिक्षकलाई सम्मान, एसईई प्रिबोर्ड, बिएलई प्रिबोर्ड र कक्षा ११ र १२ प्रि बोर्डको सफलतापूर्वक सञ्चालन गर्न आफुले गर्न सफल भएको सुनाउँदै शैक्षिक अभियन्ता समेत रहेका रावतले प्याब्सन लुम्बिनी प्रदेशको चौथो अधिवेशनमा आफुले सचिव पद दाबी गरेको बताए ।
‘प्रदेशको सचिव जिम्मेवारी हाँक्न सक्छु भन्ने विश्वास हो’, आफ्नो तीन दशकबढीको शैक्षिक क्षेत्रको फेहरिस्त देखि प्याब्सन आबद्धताका इतिहास सुनाउँदै रावतले दैनिक नेपालगन्जसँग भने, ‘प्याब्सनलाई युग सुहाउँदो गति दिन फरक ढंगले सोच्न र कार्यान्वयन आवश्यक हो ।’