नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विद्यार्थी बालबालिकाहरूमा अभिभावकले चनाखो भएर निगरानी गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार वेष्टजोन इ.मि.स्कुलको २५औं बार्षिकोत्सवको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै नगर प्रमुख विष्टले आफ्ना बालबालिकाले के गरिरहेका छन् भनेर अभिभावकले निगरानी गर्न आवश्यक रहेको बताएका हुन् ।
नगर प्रमुख विष्टले अभिभावकहरू विद्यालय पठाएका बालबालिकाले घरमा के गरिरहेका छन् चासो नदिंदा बालबालिकाहरू कुलतमा फसेको थाहै नहुन सक्ने बताए । उनले पछिल्लो समय बालबालिकाहरूमा मोबाइल प्रयोगको लत बसिरहेको बताउँदै त्यसले नकारात्मक प्रभाव पनि परिरहेको धारणा राखे । ‘बालबालिकाहरू मनोरञ्जनका लागि खेलकुदमा भाग लिने भन्दा तिनै खेल मोबाइलमा खेलेर मनोरञ्जन लिने गरेको पाइन्छ’, नगर प्रमुख विष्टले भने, ‘खेलकुद स्वास्थ्यका लागि राम्रो हो, त्यसका लागि अभिभावकले बालबालिकालाई मोबाइल भन्दा अन्य खेलहरू तर्फ प्रेरित गर्नुपर्छ ।’

नगर प्रमुख विष्टले बालबालिकालाई कुन खेल मनपर्छ सोही खेल खेल्ने व्यवस्था मिलाउन अभिभावकलाई सुझाव दिएका छन् । ‘खेलबाटै पनि राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्ने अभिभावकले बुझ्न आवश्यक छ’, उनले भने ।
नगर प्रमुख विष्टले समयसँगै अध्यापनको विधि पनि परिवर्तन हुनुपर्ने धारणा राख्दै अब सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि विद्यार्थीहरूका लागि उत्तिकै आवश्यक भएको बताए ।
‘विद्यार्थी मानसिक र शारीरिक रूपले स्वस्थ्य भएमात्र उनीहरूले भोलिका दिनमा समाजमा राम्रो योगदान पुर्याउन सक्छन्’, नगर प्रमुख विष्टले भने, ‘त्यसैले अभिभावकले बालबालिकामा गरेको लगानीको प्रतिफलका राम्रो अभिभावकत्व पनि प्रदान गर्नुपर्दछ ।’

विद्यार्थीहरूलाई नैतिक शिक्षा पनि उत्तिकै जरुरी भएको नगर प्रमु्ख विष्टले बताएका थिए । ‘नैतिक शिक्षा नहुँदा नै कतिपय बृद्धबृद्धा वृद्धाश्रममा बस्नु परिररहेको छ’, नगर प्रमुख विष्टले नैतिक शिक्षा विद्यालय तहदेखि बालबालिकालाई दिइनु पर्ने उल्लेख गर्दै भने ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज शैक्षिक हब बनिरहेको बताएका छन् । उनले शिक्षामा आर्जन गरेको विश्वसका कारण नेपालगन्जमा विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेको बताएका हुन् ।
वेष्टजोन ई.मि. हाइस्कुको २५औं बार्षिकोत्सव कार्यक्रम तथा अभिभावक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नेपालगन्जलाई शैक्षिक हब बनाउन वेष्टजोनको महत्वपूर्ण योगदान रहेको बताए । उनले विद्यालयले २५ बर्षसम्म शिक्षामा पुर्याएको योगदानको प्रशंसा पनि गरेका थिए ।

विद्यालयका अध्यक्ष कमान सिंह बोहराले अब प्लस टु सञ्चालन विद्यालयको लक्ष्य रहेको बताएका थिए । उनले प्राविधिक पूर्वाधार थप्ने पनि आफुहरूको योजना रहेको बताएका थिए । विद्यालयको विगत, वर्तमान तथा भविष्यका योजनाहरू कार्यक्रममा प्रस्तुत गर्दै शिक्षक टिकाराम शर्माले ८६ जना विद्यार्थीबाट सुरु गरेको विद्यालयमा हाल ९ सय भन्दा विद्यार्थी रहेको जानकारी दिएका थिए । ‘अहिलेसम्म विद्यालयले आफुलाई अब्बल सावित गर्न सफल भएको छ’, उनले भने, ‘२०५३ सालमा स्थापना भएको यस विद्यालयको प्रमुख उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको हो ।’ उनले संस्थालाई व्यवसायिक भन्दा सेवामूलक बनाएको बताए । हाल वेष्ट जोनमा ४० शिक्षक, शिक्षिका तथा १६ कर्मचारी कार्यरत छन् । ‘उच्च माध्यमिक तहमा प्राबिधिक तहका कक्षाहरू संचालन गर्ने र विद्यालय तहलाइ समय सापेक्ष गुणस्तरिय एवं ब्यवहारिक शिक्षा प्रदान गर्दै लैजाने लक्ष्य राखिएको छ’, शिक्षक शर्माले भने ।
कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै झविन्द्र शर्माले विद्यालय २५औं बर्षसम्म आइपुग्दा परिपक्व भैसकेको र उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको बताएका थिए । उनले कलिला बालबालिकाको भविष्य निर्माण गर्न विद्यालय र शिक्षकले भूमिका महत्वपूर्ण पाएको बताएका थिए ।
अभिभावक शर्माले वेष्टजोनको नेपालगन्जमा छुट्टै पहिचान र विशेषता रहेको उल्लेख गर्दै व्यवहारिक र सैद्धान्तिक ज्ञानलाई सँगसँगै अगाडि बढाएको विश्वास व्यक्त गरे । उनले पूर्व विद्यार्थी संगठित गर्न समेत विद्यालयलाई सुझाव दिएका थिए ।
गत बर्षको एसइइमा ३.९१ जिपिए ल्यएर उत्कृष्ट भएका विद्यार्थी अमित कुशवाहले विद्यालयमा शैक्षिक वातावरण राम्रो भएको बताउँदै सिकेका कुराहरू काम लागिरहेको बताएका थिए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा अधिकृत तहमा कार्यरत विद्यालयकी पूर्व विद्यार्थी आचल बगालेले विद्यालयले लक्ष्य निर्धारण गर्ने हौसला प्रदान गरेको बताइन् । ‘भोलि के बन्ने भन्ने आजैदेखि नै लक्ष्य निर्धारण गरी प्रयास गर्नुपर्छ’, कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सुझाव दिंदै उनले भनिन् ।
शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख लोक बहादुर शाहीले वेष्टजोनले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको महसुस भएको बताएका थिए । ‘विद्यालय २५औं बर्षमा पुगेकाले अब विद्यालय सुरु गर्दाको मिसन, भिजन के थियो समिक्षा गर्नुपर्छ’, विद्यालयलाई सुझाव दिंदै उनले भने, ‘विद्यालयमा हिजो अध्ययन गरेका विद्यार्थीहरूको को कहाँ छन् अध्ययन गरे त्यसले पनि विद्यालयको उपलब्धी दर्शाउन सक्छ ।’
विद्यार्थीले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम, उत्कृष्ट विद्यार्थी पुरस्कृत गरिएको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, वडा नं. ९ का वडाध्यक्ष गोविन्द रेग्मी, विद्यालयका प्रिन्सिपल आरके गौतम, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।






























