सनविम इङ्गलिस मिडियम स्कुलले आफ्नो २२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न सिर्जनशील कार्यक्रमहरू सहित मनाएको छ । शनिबार भव्य औपचारिक कार्यक्रम बीच लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका पूर्व मन्त्री रत्न खत्रीले बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर पोखरेलको अध्यक्षतामा भएको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रिन्सिपल सञ्जय गुरुङ्गले विद्यालयको प्रगति विवरण सँगै हालसम्मको उपलब्धी र सिकाई अभ्यास बारे बोलेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रकाश लामिछाने, आदर्श माविका प्रिन्सिपल महेश्वर जोशी, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य लगायतले संस्थागत विद्यालयका अभ्यास तथा उपलब्धीहरू बारे बोलेका थिए ।
विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसँगै अभिभावकहरू माझ आफ्ना पाककला पस्किएका थिए । विभिन्न स्टलहरूमा थरीथरीका मौलिक खाना पस्किएका विद्यार्थीहरूले अभिभावकहरूलाई आफ्ना सिर्जनशील क्षमताहरू मार्फत स्टेजबाट मनोरञ्जन पनि गराए ।
‘विद्यार्थीहरूलाई पढाई मात्रै नभएर व्यवहारिक ज्ञान हासिल गराउनु हाम्रो उद्देश्य हो’, सनविमका अध्यक्ष इश्वर पोखरेलले भने, ‘बालबालिकालाई हामी घरदेखि संसारसम्मका सबै विषयको ज्ञान उपलब्ध गराउँछौं, ताकी उनीहरू कहीँकतै पनि प्रतिस्पर्धी बन्न सकुन् ।’