नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले विशाल चोकदेखि बनियागाउँ सडकका लागि यो बर्ष ५० लाख बजेट विनियोजन गरेको छ । वडाध्यक्ष दिपक कुमार बर्माका अनुसार, दुई मिटर लम्बाईको ६.५० मी सबबेस चौडाई तथा ५.५ मिटर चौडाई भएको २ सय मिटर अस्फाल्ट निर्माण कार्यका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
सोमबार ज्येष्ठ नागरिक टिकाराम कंडेलले उक्त सडकको शिलान्यास गरेका छन् । वडाध्यक्ष बर्माको नेतृत्वमा गएका जनप्रतिनिधि, स्थानीयबासी ठेकेदार कम्पनी लगायतको उपस्थितिमा भएको कार्यक्रम बीच ज्येष्ठ नागरिक कंडेलले सडकको शिलान्यास गरेका हुन् ।
‘पुस मसान्तभित्र सडक निर्माण कार्य सक्ने गरी सडक निर्माण कार्य अगाडि बढाउन ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ’, यसैसाता ७० लाख बढीको सडक अस्फाल्ट निर्माण कार्यको शिलान्यास गरी शुभारम्भ गरिसकेका वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘शिलान्यास मात्रै होइन निर्माण कार्य समयमै सकेर उद्घाटनका लागि बजेट सुनिश्चितता सहित निर्माण कार्यलाई अगाडि बढाइएको
छ ।’
नेपालगन्जसँग छिमेकी जानकी गाउँपालिकाको बनियागाउँ जोड्ने रणनीतिक उक्त सडक नेपालगन्जका लागि बाइपास जस्तै विकास गर्न खोजिएको वडाध्यक्ष बर्माको भनाइ छ ।
त्यसका लागि उनले अघिल्लो आर्थिक बर्षदेखि निरन्तर बजेट व्यवस्थापन सहित निर्माण कार्य अगाडि बढाइरहेका छन् ।
