आज शनिबारदेखि दुई दिन नेपालगन्जमा नेपाल मुस्लिम इत्तेहादको केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसका लागि शुक्रबार नै सम्पूर्ण तयारी पूरा भएको महाधिवेशनका प्रचार संयोजक सकिद अहमद कादरीले जानकारी दिएका छन् ।
बाँकेमा राजनीतिक दल र त्यसका भातृ संगठनहरूको केन्द्रीय महाधिवेशन निकै कम हुने गरेको छ । त्यसैले पनि नेपालगन्जमा हुने महाधिवेशनलाई जिल्लाबाट केन्द्रमा नेतृत्व स्थापित गर्ने, जिल्लाका विकास निर्माण तथा विभिन्न चासोका विषयहरू केन्द्रीय तहसम्म पुर्याउने अवसरका रूपमा प्रयोग हुँदै आएको छ । इत्तेहादको केन्द्रीय महाधिवेशनका लागि व्यवस्थापकीय जिम्मेवारी प्राप्त गर्ने इत्तेदहाद बाँकेको समूह सँगै नेकपा एमाले बाँके र त्यससँग सम्बद्ध जनवर्गीय संगठन पनि महाधिवेशनको तयारीमा जुटेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले छैठौं अधिवेशन नेपालगन्जमा हुने तयारी हुँदै गर्दा पनि सफल नभएको उल्लेख गर्दै सातौं महाधिवेशनमा नेपालगन्जमा भव्यतापूर्वक आयोजना हुने बताए । ‘नेपालगन्जमा अधिवेशन हुँदाखेरी त्यसको इम्पेक्ट देशभरीको कम्युनिटीमा पर्छ । कम्युनिटीवेशमा जुन राजनीतिक चेतना जुन यहाँ छ त्यो नेपालगन्जलाई फोकस गर्ने एउटा कुरा हो’, उनले नेपालगन्जमा हुन लागेको सातौं महाधिवेशनबारे भने ।
महाधिवेशन आयोजना व्यवस्थापन समितिका संयोजक अब्दुल करिम खानले बाँकेको एजेण्डा केन्द्रीय तहमा स्थापित गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिएको बताउँछन् । उनले त्यसका लागि तयारीका क्रममा पत्रकार सम्मेलन, मुस्लिम युवा भेला, मुस्लिम महिला भेला, विभिन्न राजनीतिक दलका मुस्लिम नेताहरूसँग छलफल, पत्रकारहरू सँग छलफल, मुस्लिम धार्मिक अगुवाहरूसँग छलफल गरी बाँकेको चासो, मुस्लिम सँगै दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, उद्योगी व्यसायीसँग महाधिवेशनमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरेको जानकारी दिएका छन् । ‘हामीले महाधिवेशनको निम्तो मस्जिदहरूबाट गरेका छौं तथा घरघरसम्म महाधिवेशनबारे जानकारी दिन पर्चा, पम्प्लेट वितरण गरेका छौं, साथै महाधिवेशनमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरेका छौं’, उनले भने ।
‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको हों ।’ मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि सहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर पनि भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुर्य ढकाल बताउँछन् । ‘जिल्लामा हुने जुनसुकै महाधिवेशनले पनि केन्द्रीय तहमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्न बल पुग्छ, केन्द्रमा जिल्लाको नेतृत्व पुग्नसक्छ’, एमाले नेता ढकाल भन्छन्, ‘केन्द्रमा जिल्लाको उपस्थिति बलियो हुँदा त्यसले जिल्लाका सवालहरू केन्द्रसम्म पुर्याउन पनि सजिलो हुन्छ ।’
नेकपा एमालेका केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टीले सक्दो सहयोग गरेको बताउँछन् । ‘जिल्लामा हुने केन्द्रीय कार्यक्रमहरू यहाँको लागि अवसर हो’, उनले भने ।
‘महाधिवेशनलाई सघाउन जनवर्गीय संगठन परिचालन गरिएको छ’, नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाले भने, ‘नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रले हेल्प डेक्स र स्वयंसेवक परिचालनको लागी तयारी पुरा गरेको छ ।’ नेकपा एमाले बाँकेको २३ वटै भातृसंगठन आज शनिबार हुने महाधिवेशनमा सहभागी हुने उनले बताए ।
नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाले मुस्लिम इत्तेहादको अधिवेशन सफल पार्न स्वयंसेवक परिचालन र हेल्पडेक्स सहित शनिबार बिहान मोटरसाइकल ¥यालीको आयोजना हुने बताए ।
‘प्रतिनिधिहरू आउने क्रम जारी छ, व्यवस्थापनका सबै पाटो पूर्ण भएको छ’, दैनिक नेपालगन्जसँग प्रचार संयोजक कादरीले भने ।
महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र अतिथि सहित बाँके बाहेकका जिल्लाबाट ६ सय सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।