अब्दुल करिम खान
केन्द्रीय कोषाध्यक्ष
संयोजक, सातौं महाधिवेशन आयोजक व्यवस्थापन समिति
नेपाल मुस्लिम इत्तेहाद संगठन
समग्र आयोजनाको तयारी कसरी भैरहेको छ ?
हामीले चैत्र १७ गते पत्रकार सम्मेलन गरेर महाधिवेशन आयोजनाबारे जानकारी दिएपछि चैत्र २१ गतेदेखि निरन्तर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि पार्टी सँग समन्वय गर्दै मुस्लिमहरुसँग साझा धारणा बनाउन महाधिवेशन केन्द्रित छलफल सुरु गरेका थियौं ।
महाधिवेशनको तयारी सम्बन्धमा साझा धारणा कसरी लग्ने, महाधिवेशनमा उपस्थिति कसरी बलियो बनाउने भन्ने, साझा सवाल पहिचान गर्न मुस्लिम अगुवा, युवा, उद्योगी, व्यापारी, राजनीतिक दलका मुस्लिम अगुवासँग हामीले तयारी सम्बन्धमा नगर भित्र व्यापक छलफल गर्यौं ।
सातौं राष्ट्रिय महाधिवेशन पश्चिम नेपालकै ऐतिहासिक र महत्वपूर्ण अधिवेशन भएकाले बाँकेबासीका लागि, मुस्लिम, मधेसी, थारु, जनजाति, अल्पसंख्यक समुदायको लागि एक खालको वर्गको कुरा र महत्वपूर्ण हो । प्रधानमन्त्रीमार्फत सबै पक्षको आर्थिक, सामाजिक, राजनीतिक धार्मिक, सांस्कृतिक, उत्पीडनमा परेकाको समस्याहरु कसरी सम्बोधन गराउन सकिन्छ भनेर समन्वय गर्दै अगाडि बढिरहेका छौं ।
हाम्रो कार्यक्रमले नगरमा उत्साह ल्याएको छ, ऊर्जा, हौशला पनि प्राप्त गर्यौं । नगर भित्रमात्रै नजोडेर पालिका स्तरमा रहेका थारु, मुस्लिम, जनजाति लगायत पछाडि परेका समुदायसँग पनि छलफल गर्यौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिमहरुको हक अधिकारका लागि लड्दै आएको छ र आउने दिनमा पनि लडिरहेको छ ।
विशेष के छ ?
नेपालगन्जको ऐतिहासिक नगरीमा हुन लागेको सातौं राष्ट्रिय महाधिवेशन सबैको व्यापक उपस्थिति होस् । हामीले महाधिवेशनमा मुस्लिमको हकहितका कुरा मात्रै उठाउने छैनौं, तमाम मुस्लिम, मधेसी, थारु, जनजाति, अल्पसंख्यक, पछाडि परेको वर्ग, समुदाय, उद्योगी, व्यवसायी सबैको बारेमा कुरा उठाउँछौं । यी सबै कुरालाई मध्यनजर हामीले बाँकेका सबै जसो पालिकामा प्रचारकै क्रममा पुगेर कार्यक्रम गरिसकेका छौं । हामी खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारी पुगेका छौं ।
हामीले प्रचारप्रसार सँगै महाधिवेशनको महत्व बुझाउन, व्यापक जनसहभागिता जुटाउन, स्थानीय स्तरका समस्या सुनेर एकत्रित गर्नका लागि हामी बाँकेका गाउँगाउँ प्रचार अभियान लिएर पुगेका हौं । हामीले प्रधानमन्त्री समक्ष सबैका कुरा राख्ने अवसर हो । भोलिका दिनमा त्यो अवसर नआउन पनि सक्छ । त्यसैले हामीले सबैमा उत्साह, जोश पैदा गर्नका लागि र महाधिवेशन सफल बनाउन सुझाव लिनका लागि बाँके जिल्लाको पालिका स्तरमा पुगेका हौं ।
तपाईका अनुसार तयारीका क्रममा फरक विचार र समूहसँग पनि छलफलमा बसिरहनु भएको छ । त्यो किन आवश्यकता महसुस गर्नुभयो ?
यस्तो अवसर कहिलेकाहीँ मात्रै आउने गर्छ । यो महाधिवेशनमा प्रधानमन्त्री स्वयं आउने भएकाले पनि उहाँ सबैको साझा अभिभावक होनि त । महाधिवशेन नेकपा एमालेको भातृ संगठनको भएपनि प्रधानमन्त्री सबैको साझा हुनुहुन्छ । यसलाई हामीले अवसरका रुपमा लिएर बाँकेका जिल्लामा बस्ने सबैको विकासका हिसाबले, बाँकेलाई देशभर चिनाउने ठूलो अवसर भएका कारणले सबैसँग छलफल गरेका हौं ।
महाधिवेशनका प्रतिनिधिले कसरी बाँकेलाई चिनेर जानेछन् ?
हामीले महाधिवेशनमा मुस्लिमहरुको हकहितको सम्बन्धमा कुरा उठाउने छौं । मदरसा बोर्ड जुन छ, त्यसलाई अझ कसरी बलियो र सशक्त बनाउन सकिन्छ ? मदरसा शिक्षालाई मूलधारमा कसरी जोड्न सकिन्छ, अझै पनि मदरसा शिक्षा चाहीँ मूलधारसँग जोडिसकेको छैन । हामीले मुस्लिम विश्वविद्यालयको कुरा उठाउनेवाला छौं ।
लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा मुस्लिम समुदायको म्याक्सिमम बसोबास रहेको छ । यसमा हामीले यदी मुस्लिम विश्वविद्यालयको कुरा उठाएर स्थापना गर्न सफल भयौं भने पश्चिम नेपालकै लागि सबै मुस्लिमहरुको उच्च शिक्षा हासिल गर्ने थलो बन्न सक्छ ।
र, लुम्बिनी प्रदेश भनेको सम्भावना बोकेको र इन्फ्रास्टक्चरले भरिपूर्ण भएको प्रदेश हो । जानकी विश्वविद्यालय स्थापना भैसकेको, कोशीमा स्थापना हुन विश्वविद्यालय स्थापना हुन नसकेको र अहिले खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना भैसकेको छ । तर मुस्लिम विश्वविद्यालय लुम्बिनीमा बनाउन सकियो भने चाहँी यो मुस्लिमहरुका लागि राम्रो हुनेछ ।
अर्को मुस्लिमहरुको विषयमा के कुरा उठाउन चाहन्छौं भने ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ । जागिरको सवालमा, सेना, प्रहरी भर्नाको सवालमा सहभागिता सुनिश्चित भएको छैन । त्यस्ता विषयहरु महाधिवेशन उठाउने छ ।
अन्त्यमा
बाँकेबासीलाई मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशन पश्चिम नेपालको पहिलो अधिवेशन र प्रधानमन्त्रीज्यू स्वयं आउनुहुने भएकाले सफल बनाउन अनुरोध गर्दछौं । महाधिवेशनमा बाँके जिल्लाको समग्र विकासको कुरा उठाउने भएकाले बाँकेमा रहेको अधुरा गौरवशाली योजनाको कुरा उठाउने भएकाले, बाँके जिल्लामा कुनै पनि राजनीतिक दलले पहुँच बनाइनसकेको कारणले विभिन्न राजनीतिक अवसरबाट वञ्चित हुँदै आएका छन्, हामी बाँके जिल्लामा महाधिवेशन गरिरहँदा यसबाट बाँके जिल्लाको थु्रपै समस्या प्रधानमन्त्रीज्यू समक्ष राख्न सक्छौं, उहाँको ध्यानाकर्षण भएमा समस्याहरु समाधान गर्न एउटा निष्कर्षमा पुग्न सक्छन् जस्तो मलाई लाग्छ ।