नेपाली विद्यार्थीको वैदेशिक शिक्षा मोह बढ्दै गएको वर्तमान परिपेक्ष्यमा विद्यार्थीलाई नेपालमै अध्ययनको वातावरण मिलाउन सुचना र प्रविधिलाई ग्रहण गर्नु पर्ने बताइएको छ । शनिबार बाँकेको नेपालगन्जमा सोधपत्र (अनुसन्धान)का विषयमा आयोजित तालिममा बोल्ने बक्ताहरूले नेपाली विद्यार्थीको बैदेशिक शिक्षा मोहलाई कम गर्न सुचना र प्रविधिलाई सबैले ग्रहण गर्न सक्नु पर्ने बताइएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ज्ञान बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख टेक बहादुर गुरुङले भने, ‘विगत केही वर्ष यता नेपालका विद्यार्थीहरू बैदेशिक शिक्षाका लागि विदेश पलायन हुने अवस्था रहेको छ, यसमा हाम्रो पनि केही कमजोरी रहेको छ,हामीले प्राप्त सुचना र प्रविधिलाई राम्रोसँग प्रयोग गर्न सकेनौ की ?’
प्राध्यापकहरूले वर्तमान प्रविधिलाई प्रयोग गर्न सक्नु पर्ने बताउँदै प्रमुख अतिथि तथा क्याम्पस प्रमुख गुरुङले अगाडि भने, ‘सुचना र प्रविधिलाई ग्रहण गर्न नजाने, विद्यालय छोड्ने विद्यार्थीलाई रोक्न सकिदैन, शिक्षक, प्राध्यापक अब्वल र क्षमतावान बन्न जरुरी छ, जसका लागि हामीले भएका सुचना र प्रविधिलाई गर्न सिक्नु पर्दछ ।’
यसैगरी मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज बाँकेका क्याम्पस प्रमुख भगत नेपालीले पश्चिम क्षेत्रलाई शैक्षिक हव बनाउने विषयलाई महत्व दिदै भने,‘अहिले पश्चिम क्षेत्रमा पनि डाक्टर लेख्न प्राध्यापकहरूको संख्या बढ्दै आएको छ । यसले के देखाउँछ भने पश्चिम क्षेत्र त्यसमा पनि बाँकेलाई शिक्षाको हवका रूपमा चिनाउन हामीलाई विश्वविद्यालय अनुदान आयोगले शिक्षक प्राध्यापकहरूको शैक्षिक क्रियाकलापमा निखार ल्याउन तालिम लगायतका कार्यक्रमका लागि सहयोग हुनु पर्दछ र हुदै पनि आएको छ ।’
यसैगरी कलेज अफ मानेजमेन्ट नेपालगन्ज प्रमुख मुना हमालले भनिन्, ‘विद्यार्थीहरू प्रत्येक्ष सिकाईको बाटो भन्दा बाहिर जाने गरेको हुँदा क्याम्पस स्तरबाट समेत विभिन्न तालिमहरू प्रदान गर्दै अगाडी बढ्नु पर्छ ।’
यसैगरी तालिमको उद्घाटन सत्रमा प्राविधि कलेज नेपालगंजका तिलकराम थारु,बाँके बागेश्वरी क्याम्पस नेपालगंजका विरेन्द्र साउद लगायतले बोलेको थिए । यसैगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा बाँके र बर्दियामा विभिन्न क्याम्पसका क्याम्पस प्रमुख तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो । शनिबारबाट पाँच दिन सम्म हुने सो तालिममा दुई जिल्लाका १२ क्याम्पसका करिब ४२ प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
सहभागी क्याम्पसहरूमा सिटी कलेज अफ म्यानेजमेन्ट नेपालगन्ज, कलेज अफ म्यानेजमेन्ट नेपालगन्ज, ब्राइटल्याण्ड कलेज नेपालगन्ज, बाँके बागेश्वरी कलेज नेपालगन्ज, अलपाइन म्यानेजमेन्ट कलेज नेपालगन्ज, खजुरा क्याम्पस बाँके, कोहलपुर मोडल कलेज, ज्ञान बहुमुखी क्याम्पस कोहलपुर, बाँसगढि बहुमुखी क्याम्पस बर्दिया,चुरे क्याम्पस बर्दिया लगायतका क्याम्पसमा शिक्षण गर्दै आइरहेका प्राध्यापकहरूको सहभागिता रहेको थियो । शनिबार पहिलो दिनको प्रशिक्षण सहायक प्राध्यापक तोयनाथ पहाडीले गरेका थिए । प्रशिक्षक पहाडीले अनुसन्धानको महत्व,परिभाषा तथा गुणात्मक अनुसन्धानका प्रक्रियाका बारेमा प्रशिक्षण दिएका दिएका थिए ।