जडीबुटीखेती गर्ने किसानलाई प्रोत्साहन गर्न सरोकार भएकाले आग्रह गरेका छन् । नेपाल जडीबुटी व्यवसायी सङ्घको आज यहाँ भएको २६औँ साधारणसभामा सरोकार भएकाले नेपालमा पाइने दुर्लभ र मूल्यवान् जडीबुटीको व्यावसायिकखेती गरेर संरक्षण, संवर्द्धन र सदुपयोग गर्न सके त्यसबाट आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
नेपालमा जडीबुटीसम्बन्धी नीतिलाई केही परिमार्जन गरिए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको जडीबुटी व्यवसायीको भनाइ छ । लुम्बिनी प्रदेशसभाका सांसद मीना बोहोरा सिद्धिकीले जडीबुटी नेपालको समृद्धिको आधार भएको भन्दै यो खेतीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले जडीबुटीसम्बन्धी नीतिगत उल्झन फुकाउन आफ्नो तर्फबाट प्रयास गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले जडीबुटीको विस्तारका लागि किसानलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि जडीबुटीको प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले दिगो वन व्यवस्थापनका लागि जडीबुटीखेती विस्तार गर्न अनुरोध गर्दै भूगोलअनुसार हिमाल, पहाड र तराईमा जडीबुटीको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले राज्यले जडीबुटी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउँदै निर्यातमा कर लगाउनु अव्यावहारिक भएको बताउनुभयो । उहाँले जडीबुटीको निकासीमा शुल्क बढी रहेको उल्लेख गर्दै भारतीय पक्षका कारण अहिले जडीबुटीको निर्यात नभएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोयाकुब अन्सारी, सङ्घका सल्लाहकार शकिल अहमद जसगढ, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य, नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यवाहक सभापति धनराज बर्मा, नेपाल किसान सङ्घ क्षेत्र नं २ बाँकेका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले जडीबुटी खेतीको विकास र संवर्द्धनमा जोड दिनुभएको थियो ।
उक्त अवसरमा जडीबुटीको व्यावसायिकखेती गरेका दुईजना किसानलाई सम्मान गरिएको थियो । सल्यानको छत्रेश्वरीका कीर्तिबहादुर वली र सुर्खेत सिम्ताका लालबहादुर बुढालाई सङ्घले सम्मान गरेको हो । भारतीय नाका जमुनाहबाट निर्यात नहुँदा जडीबुटी व्यवसायीका गोदाममा करिब दुई हजार टन जडीबुटी थन्किएका सङ्घले जनाएको छ ।