नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको औपचारिक दस्तावेजीकरण गरिएको छ ।
वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले पहिलो पटक ‘शक्तिपीठ बागेश्वरी’ पुस्तक मार्फत अहिलेसम्मका लिखित, अलिखित अभिलेखहरुको दस्तावेजीकरण गरेको हो । त्यससँगै जनश्रुतिहरु समेटिएको प्रचार सामाग्री पनि प्रकाशन गरिएको छ ।
शनिवार गुठीले नागरिक समाजका विभिन्न प्रतिनिधिमूलक सहभागितामा ‘शक्तिपीठ बागेश्वरी’ नामक पुस्तक, प्रचार सामाग्रीसहित अहिलेसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा, पूर्व प्राज्ञ सनत रेग्मी सहितका ब्यक्तित्वहरुले पुस्तकको बिमोचन गरेका हुन् ।
बागेश्वरी मन्दिरको इतिहास, महिमा, शक्तिपीठ उत्पत्तिको जनश्रुति समेटिएको प्रकाशनमा अहिलेसम्म मन्दिरको सम्पत्ति खोजिका लागि गरिएका पहल र प्रयास समेटिएका छन् । मन्दिरलाई बेलाबेलामा दाताहरुले दान गरेको सम्पत्ति हिनामिना हुँदै आएका कुरालाई सञ्चारमाध्ययमले उठाउँदै आएपनि खोजविन र कारबाही हुन नसकेको अवस्थामा मन्दिरकै पुस्तकले त्यस्ता तथ्य प्रमाणका कुराहरुको चर्चालाई प्रकाशित गरेर औपचारिक बहसमै ल्याइदिएको छ ।
गुठीले प्रकाशित पुस्तकमा बागेश्वरीलाई तत्कालिन बलरामपुर स्टेट, भारतका राजा दिग्बिजयसिंहले दान गरेको ९९ बिगाहा जग्गाको हिनामिनामा उठेका सवालहरुलाई अनुसूचीका रुपमा राखिएका राखिएको छ ।
‘दस्तावेजहरुमा सरकारले गरेको छानबिन, जिल्ला प्रशासन बाँंकेबाट भएको छानबिन सहितको सुझाव जस्ताको तस्तै राखिदिएका छौं,’ वागेश्वरी मन्दिरको सम्पत्ति खोजविन तथा संरक्षण समितिका तत्कालिन संयोजकसमेत रहेकी नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगरले दैनिक नेपालगन्जसँग भनिन् ।
गुठीकी सदस्यसमेत रहेकी थापाका अनुसार, तत्कालिन तत्कालिन पुनराबेदन अदालतले मन्दिरको सम्पत्तिका बिषयमा गरेको आदेश, गुठी जग्गा आयोगको प्रतिवेदन, बागेश्वरीको जग्गा हिनामिना छानबिन आयोगको प्रतिवेदन पुस्तकमा समावेश गरेर दस्तावेजीकरण गरिएको छ ।
गुठीका सचिव गोपाल प्रसाद अधिकारीले संस्थागत प्रगति विवरण र आर्थिक संयोजकका रुपमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका मधुसुदन शर्मा रिजालले आर्थिक विवरण सार्वजनिक गरेका थिए । दुबैले मन्दिरमा व्याप्त समस्या उजागर गर्दै कतिपय निर्णयहरु कार्यान्वयन गर्न नसकिएको खुलासा गरे ।
कार्यक्रममा गुठी समितिका अध्यक्ष डा. राणाले बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगीले कसैलाई नटेर्ने गरेको आरोप लगाउँदै आफुले गरेका प्रयासबारे फेहरिस्त सुनाए । आफु नेतृत्वको समितिबाट सुधारका धेरै प्रयासहरुको भएको भन्दै डा. राणाले पारदर्शिता र ब्यवस्थापकीय सुधारमा चर्चा गरे ।
कार्यक्रमका वक्ताहरुले मन्दिरका पुजारीलाई गुठीले नियमन गराउन नसकेको चर्चा पनि गरिएको थियो ।