नेपालगन्जबाट सात वर्षअघि योग समिति नेपाल स्थापना गरि शुरु गरिएको योग अभ्यासले अभियानकै रुप लिएको छ ।
स्थापनाको सातौं वर्ष प्रवेश गरिरहँदा योग समिति नेपालले शनिवार नेपालगन्जमा भव्य कार्यक्रम गरि छैठौं वार्षिकोत्सव मनायो । जहाँ समाजका सबै तहतप्काका वरिष्ठ प्रतिनिधिहरुले योगाभ्यासको अभियानमा ऐक्यबद्धता जनाएको प्रष्ट हुन्थ्यो ।
योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराई एवं आयुर्वेदाचार्य हुन् । योगगुरूका रुपमा उनको अगुवाईमा शुरु भएको अभियानमा, चिकित्सकदेखि पत्रकारसम्म, उद्योगपतिदेखि व्यवसायीसम्म जोडिएर एउटा भव्य आकार बनेको हो ।
‘औषधिनै सेवन गर्नुपर्दा पनि योग गरिरहेको व्यक्ति छ भने छिटो निको हुन्छ,’ भेरी अस्पतालका पूर्व मेसु समेत रहेका नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले अभियानमा जोडिएकाहरुलाई सम्बोधन गर्दै शनिवार वार्षिकोत्सवमा भने ।
कार्यक्रममा सहभागीहरुले योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको प्रतिक्रिया दिंदै राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए । समितिले गर्दै आएको नियमित योगाभ्यास र त्यसको विस्तारले पनि समाजमा यो अभियानको ‘प्रेरक’ योग समिति नेपाल बनेको उनीहरुको भनाइ थियो ।
वरिष्ठ चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. विनोद थापाले योग आफूले गरे मात्रै फाइदा हुने स्वयम् आफू नै यसको उदाहरण भएको बताए । विहान सुतेर जाने समयलाई सदुपयोग गरेर स्वस्थ रहन सुझाव दिएका हाडजोर्नी विशेषज्ञ डा. थापाले योग समिति नेपालको भवन निर्माणमा नगद सहयोगको घोषणा पनि गरे ।
छैठौं वार्षिकोत्सवका प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य डा. धबल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै समितिको संस्थागत विकासमा योगदानको प्रतिबद्धता जनाए । उनले आफ्नो एक महिनाको तलब योग समिति नेपालको भवन निर्माणका लागि दिने घोषणा गर्दै नेपालगन्जबासीलाई नियमित योग गराई स्वस्थ राख्न अनुरोध पनि गरे ।
डा. राणाले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राख्दै मानिसलाई स्वस्थ राख्नका लागि योग समिति नेपालले चलाएको अभियानप्रति ऐक्यबद्धता जनाए ।
योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको छैठौं वार्षिकोत्सव कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको थियो ।
कार्यक्रम संयोजक प्रेम केसीको संयोजनमा भएको वार्षिकोत्सवमा ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख नन्द कुमार पोख्रेल, वरिष्ठ चिकित्सवक डा. कल्पना थापा, डा. उषा शाह, समितिका सल्लाहकार नन्दलाल बैश्य, जगदिश चन्द्र तिमिल्सिना, समितिका पदाधिकारी, सदस्य, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमनहरू लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको भव्य उपस्थिति थियो
समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) का अनुसार, योग समिति नेपालले भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ । कार्यक्रममै भवन निर्माणका लागि डा. विनोद थापाले एक लाख दश हजार सहयोग गर्ने घोषणा समेत गरे । योग समिति नेपालकी योग प्रशिक्षक शकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको उपाध्यक्ष सुवेदीले बताइन् ।
वार्षिकोत्सव कार्यक्रम सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । औपचारिक कार्यक्रम अघि नेपालगन्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो ।