बाँकेका निजामति कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विगतमा भएका माग, सुझावको सम्बोधन नभएको भन्दै विरोध स्वरूप हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले निजामति कर्मचारीले उठाएका विषयमा वेवास्ता भएको र ऐन समेटिनु पर्ने विषयमा वेवास्ता भएकालेबाँके जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूद्वारा जारी संयुक्त रूपमा विरोध गरिएको बताएका छन् ।
‘नेपालको संविधान, २०७२ जारी भइ मुलुक संघीयतामा प्रवेश गरेको एक दशक बितिसक्दा पनि प्रशासनिक रूपमा त्यसलाई कार्यान्वयन र व्यवस्थापन गर्ने संघीय निजामती सेवा ऐन हालसम्म पनि जारी हुन सकेको छैन’, चौलागाई भन्छन्, ‘ निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले बारम्बार सरकार, राजनीतिक दल, संसद लगायत सरोकारवाला निकायहरू सँग संवाद र छलफलका साथै ऐनमा समेट्नु पर्ने विषय सहित सुझाव र मागहरू प्रस्तुत गर्ने, शान्तिपूर्ण आन्दोलनहरू गर्दै आइ रहेकोमा सुनुवाई भएको छैन ।’
‘हाल सम्म पनि सुनुवाई नभएको हुँदा संयुक्त ट्रेड युनियन संजाल केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार जेष्ठ २५ गते देखि संघ, प्रदेश र स्थानीय तहका देशैभरका सरकारी कार्यालयहरूमा कर्मचारीहरूले कालोपट्टी बाँधी सेवा प्रवाह हुनेछ’, अध्यक्ष चौलागाईले भने ।