बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पछिल्लो एक वर्षमा सेवा विस्तारदेखि उपकरण सुधारसम्मका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरेको छ । अस्पताल विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रगतिपत्र सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार, राजनीतिक हस्तक्षेप र आन्तरिक असहयोगबीच पनि अस्पतालले सेवा र पूर्वाधारमा ऐतिहासिक फड्को मारेको छ । ‘समितिका केही सदस्यहरूबाटै काममा अवरोध भइरहे पनि प्रतिबद्ध सदस्यहरूको साथमा अस्पताललाई सेवा–मुखी बनाउने प्रयास जारी छ,’ पत्रकारहरुमाझ मल्लले भने ।
‘बजेट अभाव, जनशक्ति अपुग र राजनीतिक हस्तक्षेपबीच पनि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा, पूर्वाधार र बिरामी लाभमा ठूला उपलब्धिहरू हासिल गरेको छ,’ आफु राजनीति गर्न नभै राम्रो काम गर्न जिम्मेवारीमा आएको तर्क गरेका अध्यक्ष मल्लको निष्कर्ष थियो, ‘यो प्रगति पश्चिम नेपालका बिरामीका लागि आशाको संकेत हो ।’
अस्पतालले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक क्यान्सर बिरामीलाई उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । यससँगै क्यान्सर रोग पुष्टि भएकामध्ये ५२ हजार ७९३ जनाले अस्पतालबाट सेवा लिएको तथ्याङ्क अध्यक्ष मल्लले सार्वजनिक गरे ।
पश्चिम नेपालमै पहिलोपटक लिन्याक मेसिनमार्फत रेडियोथेरापी सेवा सुरु गरिएको क्यान्सर अस्पतालमा ५५ शय्याबाट बढाएर ९५ शय्या पु¥याइएको छ । ‘रगत क्यान्सरका लागि छुट्टै हेमाटो–अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको छ,’ अध्यक्ष मल्लले भने ।
पश्चिम नेपालमै पहिलो अफेरेसिस मेसिनमार्फत सेवा प्रदान गरिएको जानकारी दिएका अध्यक्ष मल्लले ल्याब, एक्सरे, सिटी स्क्यान, म्यामोग्राफी, किमोथेरापी, ब्राकिथेरापी, इमरजेन्सी, आईसीयू जस्ता सेवा थप सशक्त बनाइएको अध्यक्ष मल्लको भनाइ छ ।
‘अस्पतालले १० प्रतिशत जनरल बेड गरिब तथा विपन्न वर्गका लागि निःशुल्क राखेको छ,’ मल्लले सार्वजनिक गरेको प्रगतिपत्रमा भनिएको छ, ‘त्यस्तै कर्मचारीहरूका लागि ओपीडी सेवा निःशुल्क तथा उपचार सेवामा ५० प्रतिशत छुटको सुविधा उपलब्ध छ ।’
लायन्स क्लबको सहकार्यमा हस्पीस एण्ड पल्येटिभ केयर भवन निर्माण गरेको अस्पतालले नयाँ १२८ स्लाइस सिटी स्क्यान मेसिन, डी एक्सरे मेसिन, लिक्विड अक्सिजन ट्याङ्क, १००० केभीए ट्रान्सफर्मर जडान, पोस्ट–अपरेटिभ तथा पेडियाट्रिक अंकोलोजी वार्ड र सूचना÷मोर्टअरी कक्ष सञ्चालन गरिरहेको जनाएको छ ।
पछिल्लो आर्थिक वर्षहरूमा अस्पतालको बजेट उल्लेखनीय रूपमा बढेको पनि अध्यक्ष मल्लले दिएको तथ्यांकले देखाएको छ । ०८०÷८१ मा २७ करोड, ०८१÷८२ मा १८.८६ करोड र ०८२÷८३ का लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
हाल अस्पतालमा २१ जना विशेषज्ञ चिकित्सक र ११ जना मेडिकल अफिसरसहित १६१ जना करार, अस्थायी र दैनिकी कर्मचारी कार्यरत छन् । तर, आवश्यक जनशक्ति उपलब्ध नगरिएको गुनासो गर्दै अध्यक्ष मल्लले मन्त्रालयलाई ओएनएम सर्वेअनुसारको जनशक्ति व्यवस्था गर्न आग्रह गरे ।