शब्द र विचारको संसारमा डुबुल्की मार्नेहरूका लागि नेपालगन्ज यो साता फेरि एकपटक साहित्यिक केन्द्र बिन्दु बन्यो । भेरी साहित्य समाज केन्द्रीय समिति अन्तर्गतको भाषा तथा समालोचना विभागद्वारा आयोजित विशेष कार्यक्रमले समालोचना, विमर्श र कविता वाचनमार्फत बाँकेको साहित्यिक वातावरणमा ताजगी भरिदिएको हो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा समालोचक मीना बरालद्वारा लिखित ‘दृष्टिविम्ब’ समालोचना संग्रहको विमोचन गरिएको थियो । जसमा बाँकेका १६ जना स्रष्टाका कृतिहरू समेटिएको यो संग्रहले स्थानीय साहित्यिक यात्रालाई नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको वरिष्ठ समालोचक डा. हरिप्रसाद तिमिल्सिनाको धारणा छ ।
विमोचन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सन कुमार रेग्मी, प्राज्ञ नरेन्द्रजङ पिटर, प्राज्ञ महानन्द ढकाल तथा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतको उपस्थिति थियो ।
साहित्यिक समालोचनाको मूल्य र प्रभावमाथि मन्तव्य दिँदै रेग्मीले भने, ‘दृष्टिविम्ब कुनै सामान्य संग्रह होइन, यो बाँकेको साहित्यिक ऐना हो, जसमा स्थानीय स्रष्टाहरूको साधना झल्किन्छ ।’ पिटर, ढकाल र बस्नेतले पनि समालोचनाको बौद्धिक गहिराइ र समाजमा यसले पु¥याउने प्रभावबारे धारणा राखे ।
कृतिमाथि बौद्धिक विमर्श
कार्यक्रममा अलग–अलग कृतिहरूमाथि गहन समालोचनात्मक परिचर्चा गरिएको छ । डा. राजकुमार थारूको ‘थारू साहित्य र अन्य समालोचना’, लेकप्रसाद प्याकुरेलको ‘सम्यक दर्शन’ र कवि इन्दिरा गौतमको कविता संग्रह ‘इन्दु’माथि विमर्श गरिएको हो ।
यी कृतिहरूमाथि क्रमशः लेकप्रसाद प्याकुरेल, ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’, डा. पुष्कर रिजाल र डा. हरि तिमिल्सिनाले विश्लेषणात्मक विचार राखेका थिए । समालोचकहरूले साहित्यको सौन्दर्यबोध, विचारगत गहिराइ र समसामयिक सन्देशका पाटा उघार्दै कृतिहरूको गरिमा अझै उजागर गरे ।
गीत, कविता र गजलले कार्यक्रमलाई बनायो मिठासपूर्ण
बौद्धिकताको मात्र होइन, भावनात्मक अभिव्यक्तिको उत्सवसमेत बनेको यो कार्यक्रममा वरिष्ठ गायक सुन्दर गुरुङको सुमधुर प्रस्तुति र कविहरू प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, गीता अर्याल र अन्सर नेपालीका छन्द कविता, मुक्तक र गजल वाचनले उपस्थित स्रष्टाहरूको मन छोयो ।
समाजका भाषा तथा समालोचना विभाग प्रमुख ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’को अध्यक्षतामा भएको कार्यक्रम सहजीकरण डा. हरि तिमिल्सिनाले गरिरहेका थिए । भने, स्वागत मन्तव्य गीता अर्यालले दिएकी थिइन् ।
भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेतले अन्त्यमा भनें, ‘समालोचनाको संस्कार स्थापित गर्दै, साहित्यिक चेतना विस्तार गर्नु हाम्रो अभियान हो । आजको कार्यक्रम त्यसै दिशातर्फको सार्थक पाइला हो ।’
चार दर्जनभन्दा बढी साहित्य अनुरागीहरूको उपस्थिति र बहुआयामिक प्रस्तुतिहरूले कार्यक्रमलाई एउटा साँच्चिकै ‘साहित्यिक उत्सव’ बनाएको भनाइ सहभागीको छ ।