हरियालीको सपना बोकेर वृक्षारोपणबाट अभियानको शुरुवात गरेका हेमन्तराज काफ्लेले ‘नाइस अवार्ड २०२५’ प्राप्त गरेका छन् । दैनिक नेपालगन्जका स्तम्भकारसमेत रहेका अभियन्ता काफ्लेलाई वातावरण संरक्षणमा गरेको समर्पणको कदरस्वरूप अवार्ड प्राप्त गरेका हुन् ।
मंगलवार नाइस नेपालगन्जले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर काफ्लेलाई सम्मानित गरेको हो ।
नेपालगन्जमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासंघका केन्द्रीय सचिव नमस्कार शाह, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष तथा नाइस अवार्ड २०२३ विजेता झलक गैरे, बास नेपालका अध्यक्ष शिव कुमार वर्मालगायतले संयुक्त रूपमा अवार्ड प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुकालागि अवार्ड उत्प्रेरणा भएको बताए । त्यसक्रममा उनले नाइस नेपालगन्जको उद्देश्य परिपूर्ति, संस्थागत विकास र सामाजिक सद्भावमा योगदान दिएका कर्मचारी जोशिना थारु, राष्टि बुढा मगर र तपेन्द्र मलातीलाई प्रशंसा पत्रसहित सम्मान गरे ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नाइसले गरेको कार्यहरुको बारेमा अवगत भएको जनाउदै असल कार्य गर्ने ब्यक्तिलाई सम्मान गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए ।
अवार्ड घोषणा गर्दै गैसस महासघका केन्द्रीय सचिवसमेत रहेका नाइसका संस्थापक अध्यक्ष नमस्कार शाहले निस्वार्थ रुपमा हरियाली प्रबद्र्धन मार्फत समाजमा लागि परेका ब्यक्तिलाई गरेको सम्मानले असल कार्य गर्ने ब्यक्तिलाई उत्प्रेरणा थप्ने बताए ।
बरिष्ठ पत्रकार झलक गैरेले प्रकृति संरक्षणमा अग्रसर ब्यक्तिलाई नाइस अवार्ड प्रदान गरिनुले समाजलाई उत्प्रेरित गर्ने बताए । सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थपेको उनको भनाइ थियो ।
आयोजक संस्थाका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, मंगल माविका प्रधानाध्यापक सन्ध्या गुप्ता, बास अध्यक्ष बर्मालगायतले आफ्ना धारणा राखेका थिए । गुप्ताले समाजलाई सकारात्मक दिशामा डोर्याउन अभिभावक सचेतनाको आवश्यकता औल्याउदै त्यसतर्फ काम गर्न सुझाव दिइन् ।
हेमन्तराज काफ्लेः एक बिरुवाबाट सुरु भएको हरियाली क्रान्ति
आफुलाई ‘हरित हेमन्त’ को नामले परिचित बनाउन उद्दत काफ्लेले डेढ दशकभन्दा बढी समयदेखि वृक्षारोपण, जैविक विविधता संरक्षण र वातावरणीय जनचेतना फैलाउने कार्यमा आफूलाई समर्पित गर्दै आएका छन् । उनले जन्मदिन, व्रतबन्ध, विवाह वर्षगाँठजस्ता विशेष अवसरमा बिरुवा उपहार दिने संस्कारलाई आम अभ्यास बनाउँदै वातावरणप्रेमी संस्कृति निर्माण गरेका छन् ।
बाँकेमा काफ्लेको नेतृत्वमा सुरु गरिएको ‘सितलचिनी अभियान’ र ‘कल्पवृक्ष अभियान’ ले हजारौं बिरुवाको रोपण र वितरण मात्र गरेको छैन, बरु समाजमा वातावरणप्रतिको प्रेम र दायित्वको चेतना पनि जागृत गराएको छ । उनले जर्मनीलगायत मुलुकबाट ल्याइएका बीउहरू प्रयोग गरी धार्मिक स्थलहरूमा बिरुवा रोपेर जैविक विविधता र धार्मिक पर्यटन दुवैलाई जोड्ने कार्य गरेका छन् ।
प्रेरणादायी जीवन यात्रा
कैलालीमा जन्मिएका काफ्लेले बाल्यकालदेखि नै प्रकृतिसँग गहिरो आत्मीयता राख्दै हुर्किएको बताउँछन् । परिवारका अनुसार, ११ वर्षको उमेरमा बहिनीको जन्मदिनमा उपहार स्वरूप निमको बिरुवा दिएपछि उनको हरित यात्राको सुरुवात भएको हो । शिक्षक पेशामा लागेपछि उनले आफ्नो अभियानलाई विद्यालयसम्म विस्तार गर्दै विद्यार्थीहरूको जन्मदिनमा पनि बिरुवा उपहार दिने परम्परा सुरु गरेको बताउँछन् ।
शिक्षक काफ्लेले विद्यालयमा सयौं बालबालिकाको जन्मदिनलाई हराभरा बनाइदिएका छन् । बिरुवालाई पानी हाल्ने, स्याहार गर्ने संस्कार आज ती बालबालिकाहरूका जीवनशैलीको हिस्सा बनिसकेको सुनाइरहँदा काफ्ले सरका अनुहारमा छुट्टै ओज देखिन्छ । ।
स्वास्थ्यबाट अभियानसम्मः सितलचिनी र मोरिंगा
जन्डिसबाट पीडित भएका बेला चिकित्सकले सुझाएको सितलचिनीको पातले उनलाई स्वास्थ्यलाभ मात्रै गराएन, अभियानको अर्को आयाम पनि थपिदियो। त्यसपछि उनले सितलचिनी र मोरिंगा (सहजन) को प्रचारप्रसार गर्दै ‘एक घर, एक मोरिंगा’ अभियान संचालन गरे ।
उनले हालसम्म हजारौं बिरुवा वितरण गरिसकेका छन्, जसमा राष्ट्रपतिदेखि किसानसम्म सहभागी छन् ।
अन्तर्राष्ट्रिय पहिचान र संस्थागत अभियान
काफ्ले हाल ८ बिलियन ट्रीज नेपालका प्लान्टिङ डाइरेक्टर तथा ग्रीन पिस फाउन्डेशन नेपालका अध्यक्ष हुन् । उनले भारतको हरियाणामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली अभियानलाई अन्तर्राष्ट्रिय फलकमा पु¥याएका छन् ।
दैनिक नेपालगन्जका नियमित स्तम्भकार उनका लेख, विचार र वक्तृत्वले नेपालमै मात्र होइन, विश्वव्यापी रुपमा हरित चेतना फैलाउने कार्य गरिरहेका छन् । उनले प्राप्त गरेका सम्मानहरूमा बास ब्राइटल्यान्ड अवार्ड, समरसता इन्टरनेशनल अवार्ड, डब्ल्यूडब्ल्यूएफ कन्जरभेसन अवार्ड लगायत छन् ।
सम्मानित भएपछि भने – ‘जिम्मेवारी अझ बढेको छ’
नाइस अवार्ड–२०२५ ग्रहण गर्दै काफ्लेले भने, ‘सम्मानले मलाई थप प्रेरणा र जिम्मेवारी दिएको छ । यो पुरस्कार मेरो अभियानप्रति जनताको विश्वासको प्रतीक हो । भविष्यमा झन प्रभावकारी ढंगले वातावरण संरक्षणमा लागिरहने छु ।’