पार्टी अध्यक्ष उपेन्द्र यादवको राजनीतिक भविष्य नै समाप्त पार्ने गरी राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनता समाजवादी पार्टी नेताका कार्यकर्ताहरूले देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।
त्यसक्रममा जसपा नेपाल बाँकेले मंगलबार साँझ त्रिभुवन चोकमा विरोध प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको पार्टी नेता सुर्यलाल यादवले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष कौशल धोबीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछिको सभामा केन्द्रीय सचिव कमरुद्दिन राई लगायतका नेताहरूले सर्वोच्च अदालतको परमादेशको आलोचना गरे ।
गौर नरसंहारबारे सर्वोच्च अदालतले परमादेश जारी गरेपछि पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव कानुनी कारवाहीको दायरामा आउने सम्भावना बढेको छ । यद्यपि, यादवले कानुनी अनुसन्धानलाई सघाउने प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । गौर हत्याकाण्डमा यादव उपर पनि जाहेरी छ ।