नेपालगन्जस्थित व्यवसायिक घराना जयन्त इन्टरप्राइजेजले प्राइम सेरामिक्स प्रालिसँगको साझेदारीमा ‘प्राइम एक्सक्यूसिभ शोरुम’ सञ्चालनमा ल्याएको छ । मधेसी आयोगका आयुक्त विजय गुप्ता, नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट र प्राइम सेरामिक्स प्रालिका प्रवन्ध निर्देशक प्रशान्त अग्रवालले बुधवार ‘प्राइम एक्सक्यूसिभ शोरुम’ उद्घाटन गरेका हुन् ।
दुईवर्षअघि दुई अर्बबढीको लगानीमा सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवद्र्धित प्राइम सेरामिक्स प्रालिले उत्पादन शुरु गरेको थियो । ‘नेपालसँगै विश्वका सात मुलुकमा निर्यात तयारीमा लागेका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त अग्रवालले भने, ‘नेपाली माटोको उत्पादनले अब विश्वलाई आकर्षक टायल उपलब्ध गराउनेछ ।’
आफ्नो उत्पादन ‘प्राइम–टाइल्स् विथ स्टाइल’लाई पश्चिम नेपालको बजारका लागि जयन्त इन्टरप्राइजेजसँग साझेदारी गरेको प्राइमले नेपालगन्जमा शोरुममार्फत बिक्री–वितरणलाई सहजीकरण गरिएको जनाएको छ । ‘हाम्रा उत्पादनले अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्छ,’ अग्रवालले भने ।
‘भुईँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठुलो टायल कम्पनी हो,’ नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित आएको प्राइम सेरामिक्ससँग बजार विस्तारमा गरिएको साझेदारीबारे जयन्त इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सतिश अग्रवालले भने, ‘नेपाली उत्पादनलाई माया गरौं, गौरब गरौं ।’ उनले सिमेन्टजस्तै नेपाली टायलले आयात प्रतिस्थापन गर्ने विश्वास दिलाए ।
प्राइम सेरामिक्स प्रालिले रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्णरूपमा स्वचालित उद्योगको स्थापना गरेको कम्पनीको भनाइ छ ।
नेपालगन्ज ‘प्राइम एक्सक्यूसिभ शोरुम’ उद्घाटन गर्दै प्रमुख अतिथि, मधेसी आयोगका आयुक्त विजय गुप्ताले राज्यलाई कर तिर्ने र जनतालाई रोजगारी दिनेलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले स्वदेशमै भइरहेका उत्पादनलाई उपयोगमा प्राथमिकताको आवश्यकता औल्याए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्योगधन्दा कलकारखानास सञ्चालन र व्यवसायमा स्थानीय सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओली उद्योग सञ्चालनको उपयुक्त वातावरणमा राज्यको सहयोगी वातावरणको आवश्यकता औल्याएका थिए । कार्यक्रमको सहजीकरण प्राइम सेरामिक्सका एरिया हेड गणेशदत्त बटालाले गरेका थिए ।
नेपालगन्जस्थित ‘प्राइम एक्सक्यूसिभ शोरुम’ का प्रवन्धक भव्य अग्रवालले उपभोक्ताको उच्चस्तरीय मागलाई ध्यानमा राखेर सेवा उपलब्ध गराइने बताएका छन् । ‘नेपालगन्जमा यसखालको सेवा उपलब्धताले सेवाग्राहीको बहुआयामिक रोजाइमा थप फाइदाजनक भएको छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उप–सभापति गोपाल अधिकारीले राजनीतिक रुपमा उद्योग व्यवसायमैत्री अवस्थाको सिर्जनामा जोड दिए ।