स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको साझा छाता संगठन, होटल व्यवसायी संघ बाँके, नेपालगन्जमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । संघको ११औं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पूर्वअध्यक्ष भिमलाल कंडेललाई पुनः अध्यक्षमा निर्वाचित गर्दै संघलाई नयाँ कार्यसमितिसहित जिम्मेवारी सुम्पिएको हो ।
गत भदौ २१ गते उद्घाटन भएको अधिवेशन अन्तर्गतको बन्द शत्रमा अध्यक्षदेखि पदाधिकारीसम्मको नेतृत्व निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले जानकारी दिए । संघका निवर्तमान अध्यक्षसमेत रहेका कंडेल लुम्बिनी प्रदेश होटल संघका उपाध्यक्षसमेत हुन् । ‘पछिल्लो अवस्थाले नेतृत्व विकासमा मेरो आवश्यकता महसुस गरेपछि मलाई ल्याइएको हो,’ कंडेलले आफ्नो प्राथमिकता त्यसतर्फ रहने औल्याए ।
शनिवार निर्वाचन परिणाम घोषणा गर्दै अधिवक्ता गौतमले नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष घनश्याम थापा, उपाध्यक्ष विष्णुप्रसाद पोख्रेल, महिला उपाध्यक्ष विष्णु शाही, महासचिव प्रेमबहादुर शाह, सचिव थुमबहादुर क्षेत्री, कोषाध्यक्ष एकराज पाण्डेय, सह–कोषाध्यक्ष घनश्याम शर्मा रहेको बताए । त्यस्तै, सदस्यमा अतुलकुमार गुप्ता, राजकुमार बि.क., मेघबहादुर गुरुङ, कुलबहादुर कार्की, महिला सदस्यमा गीता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका छन् । गौतमका अनुसार, बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।
नव निर्वाचित अध्यक्ष कंडेलले नयाँ नेतृत्वलाई ‘चुनौती र अवसर दुवैलाई अंगाल्दै अघि बढ्ने’ भनेर परिभाषित गरे । उनले पछिल्लो राजनीतिक अस्थिरताले होटल व्यवसाय क्षेत्रलाई चिन्तित बनाए पनि व्यवसायीहरुले समाजसँगै भिजेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सबैको राय, सुझाव र सल्लाहलाई सम्मान गर्दै संघलाई साझा संस्थाको रुपमा अघि बढाउनेछौं,’ उनले भने ।
नवीन नेतृत्वको आगमनसँगै बाँकेको होटल व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र पर्यटकमैत्री बनाउनुपर्ने अपेक्षा व्यवसायी समुदायमा देखिएको छ । अधिवेशनले मात्र नेतृत्व परिवर्तन नभई स्थानीय पर्यटन र आतिथ्य व्यवसायलाई नयाँ बाटो देखाउने मोड पनि ल्याउने विश्वास गरिएको छ ।
नवनिर्वाचितलाई शुभकामना व्यक्त गर्दै संघका सल्लाहकार, बसन्त गौतम, झलक गैरेलगायतले विद्यमान अवसर र चुनौतीबारे चर्चा गरेका थिए ।
संघका पदाधिकारीहरुलाई यसैसाता औपचारिक रुपमा प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गरिने भएको अध्यक्ष रंगबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, विद्यमान परिस्थितिको समीक्षासमेत हुने गरि कार्यक्रम राखिनेछ ।