जेनजीको आन्दोलनपछि कफ्र्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ । शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ ।
बाँकेमा आइतबारदेखि निजी विद्यालयहरू संचालन हुने भएका छन् । जेनजीका प्रदर्शनपछि उत्पन्न परिस्थिति सहज बन्दै गएकाले आइतवारदेखि पठनपाठन नियमित हुने भएको हो । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले शनिवार विज्ञप्ति जारी गर्दै यथासमयमा विद्यालय संचालन गर्न अनुरोध समेत गरेको छ ।
बाँकेका सरकारी कार्यालयमा आइतबारदेखि कर्मचारी पुग्ने भएपनि सबै कार्यालयले पूर्ण रूपमा सेवा सञ्चालन गर्न सक्ने अवस्था छैन । तर, केही सरकारी कार्यालयले आइतबारदेखि सेवा सञ्चालनमा ल्याउने भएका छन् । पूर्ण रूपमा भौतिक क्षति भएका कार्यालयले पनि कसरी सेवा सुरु गर्ने भन्ने छलफल र तयारीमा जुटेका छन् ।
उच्च अदालत तुलसीपुर नेपालगन्जले आज आइतबारबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सम्बन्धी सेवा सुरु गर्ने भएको छ । त्यसका लागि अदालतले बार, बेन्च र सरकारी वकिलसँग छलफल गरिसकेको छ । जिल्ला अदालतले सेवा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबार आज आइतबार छलफल गर्ने बताइएको छ ।
जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने भएको छ । तत्काललाई टिनको टहरामुनी अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए । अहिले केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने शर्माले जानकारी दिए । यसैबीच स्वास्थ्य सेवा भने सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो भन्सार नाका नेपालगन्ज नाकाबाट शुक्रबारदेखि भन्सार कार्यालयले राजस्व संकलन सुरु गरेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त र प्रभावित बनेको नेपालगन्जसहित बाँके जिल्लाको जनजीवन सामान्य बन्दैगएपछि यहाँस्थित आइसिपीबाट अत्यावश्यक सामग्रीको भन्सार गरेर गाडीहरू नेपालगन्ज पठाउन सुरु गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । तर, जमुनाह नाकाको यात्रु शाखा र पुरानो भन्सार कार्यालयमा भएको आगजनीबाट पूर्ण क्षति पुगेपछि त्यहाँबाट हुने सेवा भने ठप्प भएको छ । यसअघि बन्द सीमा खुलेपनि यात्रुशाखा सञ्चालनमा नरहेकाले सुरक्षाकर्मी स–सानो परिणाममा जमुनाह नाकाबाट सामान नल्याउन भारत जाने नेपालीलाई अनुरोध गर्दै आएको छ । यात्रु शाखाबाट समेत राजश्व असुली हुँदै आएको थियो ।