देशभरबाट बाँके घर भएका ५० बढी कैदीबन्दी अझै फरार रहेका छन् । विभिन्न अपराधिक मुद्दाका कैदीबन्दी फरार हुँदा त्यसले जिल्लामा सुरक्षा चुनौति समेत बढाएको छ । देशभरका विभिन्न कारागारबाट कर्तव्य ज्यान, लागुऔषध, चोरी, हातहतियार, जबर्जस्ती
करणी लगायतका अपराधी फरार हुँदा उनीहरूले जिल्ला फर्किएर वितण्डा मच्चाउन सक्ने चिन्ता बाँकेबासीमा पाइन्छ । ‘अपराधी फरार छन्, हिजो अपराध गरेका जिल्ला फर्किएर विगतमा अपराधी विरुद्ध बयान दिएका, सूचना दिएका व्यक्ति मात्रै होइन उनीहरूले थप अपराध गर्ने जोखिम छ, जसले सुरक्षा चुनौति बढाएको छ’, स्थानीय भन्छन् ।
जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले फरार अपराधी समात्नका लागि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति नै सक्रिय रहेको जानकारी दिएका छन् । ‘कतिपय फरार कैदीबन्दी आफै सम्पर्कमा आएका छन् भने नआउनेलाई प्रहरीले खोजेर कारागार फर्काएको छ’, उनले भने ।
प्रहरी नायब उपरीक्षक पातलीले फरार अपराधी पक्राउका लागि सूचना संकलन गर्ने, उनीहरूलाई ट्रयाक गर्ने कार्य भैरहेको बताएका छन् ।
नेपाली अपराधीहरू आफै कारागार फर्किदै गएपनि भारतीय अपराधी भने भारत तर्फ नै फरार भएको अनुमान छ । भारतीय सुरक्षाकर्मीहरूले समेत नियन्त्रणमा लिएका नेपाली अपराधी मात्रै फर्काउने गरेको पाइन्छ ।
केन्द्रीय कारागार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, बाँके घर भएका दुई जना झुम्का कारागारबाट, नौबस्ता बाँके कारागारबाट बाँकेका २६ जना, काठमाडौं स्थित जगन्नाथदेवल काराकारबाट १६ जना, कैलाली कारागारबाट १, डिल्लीबजार काराकारबाट १, कञ्चनपुरबाट १ र तुलसीपुरबाट १ जना बाँके घर भएका कैदीबन्दी फरार भएका छन् ।