नेपालगन्जको हडियाबाबामा धार्मिक मेलाका सहभागी हुन आएका साधु, सन्त, महन्तहरूको निःशुल्क रूपमा आँखा तथा कान परीक्षण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रामा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन, नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।
गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले गत बर्ष पनि साधु, सन्तका लागि आँखा, कान जाँच शिविरको आयोजना गरेको
थियो ।
‘शिविरमा ६ सय ४६ को आँखा, कान परीक्षण भएको छ’, गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले भने, ‘जसमध्ये ३५ जनालाई कान र १८ जनालाई आँखाको थप उपचारका लागि रेफर गरिएको छ ।’
शिविरमा आँखा परीक्षणका लागि आएका ८५ बर्षीय महन्त बाबाको दुवै आँखामा समस्या देखिएपछि तत्कालै निःशुल्क अपरेशनका लागि अस्पताल रेफर गरिएको शाहले जानकारी दिएका छन् ।
‘धेरैको आँखा, कानमा समस्या रहेको पायौं’, शाहले आँखा, कानको निःशुल्क औषध समेत वितरण गरेको जानकारी दिंदै भने ।
शल्यक्रिया गर्नु परे करिब २० देखि ३० हजारसम्म खर्च आउने भएपनि सबै निःशुल्क रहेको जानकारी शाहले जानकारी गराए ।
मेलामा उपस्थित भएको साधुसन्त, महत्माहरूको आँखामा मोतिया बिन्दु र कानमा बढी फोहोर भएको कारणले सुन्ने क्षमता कम भएको शिविरमा उपस्थित भएको चिकित्सकहरूको भनाई छ ।
उमेर बढी भएको कारण सरसफाईमा ध्यान नदिने र खानपानमा कमि भएको कारणले यो समस्या आएको जनाइएको छ ।
हडिया बाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले पाँच दिनसम्म चल्ने मेलामा आएका साधुसन्त, महत्माहरूलाई हरेक बर्ष स्वास्थ्य शिविर लगायत विभिन्न सेवाहरू दिंदै आएको बताए । मेलामा नेपालको बाँके, बर्दिया, दाङ्ग, कैलालीलगायत छिमेकी मित्र राष्ट्र भारतबाट समेत साधुसन्त, महत्माहरू आउने गरेको उनले जानकारी गराए ।
मेलामा राती प्रवचन नाटक मञ्चन लगायत विभिन्न भक्तिका कार्यक्रमहरू हुने गरेको हुन्छ । मेलामा उपस्थित साधुसन्त, महत्माहरूलाई हरेक समयमा खाना नास्तालगायतको उचित व्यवस्थापन गरिनुका साथै बिदाईको बेला कम्मल, दक्षिण आदिको राम्रो व्यवस्था गरिएको र बास बस्नका लागि पनि श्री १००८ हडिया बाबा आश्रम मै व्यवस्था गरिएको छ ।






























