भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव आज शुक्रवार उत्साहपूर्वक मनाउने भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर रावलले तेस्रो वार्षिकोत्सवबारे जानकारी दिंदै सहकारीको नारानै ‘सबै र सधैंभरीका लागि भरोसा’ भएकाले विश्वास, सहकार्य र दीर्घकालीन साझेदारीको आधार नै भरोसा भएको बताए । तेस्रो वार्षिकोत्सवबमे पूर्वसन्ध्यामा दैनिक नेपालगन्जसँग कुरा गर्दै प्रमुख कार्यकारी रावलले संस्थाको नाम राख्दा समावेशी समाज, समता र साझा आर्थिक प्रगतिका मूल्यलाई आत्मसात् गरिएको र सहकारीलाई सबै समुदायका लागि खुला र भरोसायोग्य बनाउने लक्ष्य राखिएको बताए ।
‘सदस्यकै विश्वास पहिलो पूँजी’ भन्ने मान्यतासहित अघि बढेको भरोसाले पारदर्शिता, प्रणालीगत व्यवस्थापन र सदस्यमैत्री सेवाबाट तीन वर्षमै उल्लेख्य रूपले विश्वास कमाउन सफल भएको भनाइ रावलको छ ।
नौसय बढी सेयर सदस्यलाई लगानी गरिसकेको भरोसाले आफ्नो सफल यात्राको टर्निङ प्वाइन्टको रूपमा डिजिटल सहकारीको मोडेल अपनाउने निर्णयलाई मानेको छ । ‘अधिकांश सहकारीहरू अझै पनि कागजी प्रक्रियामा आधारित रहेको समयमा भरोसाले सबै कारोबार सफ्टवेयरमार्फत सञ्चालन गर्ने गरेको’ जानकारी दिंदै प्रमुख कार्यकारी अधिकृत रावलले भने, ‘ क्यासलेस सेवा लागू गर्ने, स्मार्ट भरोसा मोबाइल बैंकिङ र क्युआर भुक्तानीजस्ता आधुनिक सुविधा प्रदान गरिएको छ ।’ डिजिटल सेवाबाट चेक वा भौचर बिना नै मोबाइलमै सबै काम गर्न मिल्ने भएकोले सदस्यहरूले सहकारीप्रति उच्च विश्वास व्यक्त गर्दै आएको संस्थाका अध्यक्ष बम बहादुर रावलको भनाइ छ ।
संस्थाका सचिव विकास भट्टराईका अनुसार, भरोसामा तीन हजारभन्दा बढी शेयर सदस्य आवद्ध भइसकेका छन् । ‘पाँच हजारभन्दा बढी खाताबाट नियमित कारोबार भइरहेको छ, जसले समाजमा भरोसाप्रति बढ्दो विश्वासको स्पष्ट संकेत दिएको छ,’ सचिव भट्टराई भन्छन् ।