अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका-७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिषकुमार रौनियार, लहान नगरपालिका-७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका-२ सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका-७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अवैध क्रिप्टोकरेन्सीमार्फत जुवा, मिल्कीवे, गेमभोल्ट, फायरकिरिन, भेगास स्वीप्स, ओरियन ताराहरू एचजस्ता खेल खेलाई उक्त प्लेटफर्ममा लिमिट लोड गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडीबुटीलगायतको एरियाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।