नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।
सो अवसरमा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले हजारौँ योजनामध्ये नरैनापुरको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नुलाई फहराउन सफल हुनु नरैनापुरबासीका लागि गौरवको विषय भएको बताउदै आउने वर्षको बजेटमा सिमामा गेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो“कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”
नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता राजधानीमा मात्र खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।”
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरा, अनुसन्धान विभागका एसपी मोहन कुवर, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ अजय मिश्रा, ४ का मनोज शर्मा, नरैनापुरका प्रेस विज्ञ आलम खान, पत्रकार विनय दिक्षित, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।





























