नेकपा (एमाले) जिल्ला कमिटीको आठौं पूर्ण बैठकले आइतवार पार्टी कार्यालयमा नेपालगन्जमा निर्वाचनको समीक्षा गरेको छ । बैठकमा जिल्लाका दर्जनौं नेताहरूले वर्तमान राजनीतिक अवस्था, पार्टीको अवस्था र हालै सम्पन्न निर्वाचनको परिणामबारे गहन समीक्षा गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्य सुर्य ढकालका अनुसार, बैठकले नेकपा (एमाले)ले निर्वाचन हार्नुमा आन्तरिक तथा बाह्य दुवै कारण जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । ‘विशेषगरी फागुन २३ र २४ गते भएका घटनाहरूले समग्र राजनीतिक वातावरण प्रभावित पारेको र त्यसको असर फागुन २१ गते सम्पन्न निर्वाचन परिणाममा परेको विश्लेषण गरिएको छ,’ नेता ढकालले दैनिक नेपालगन्जसँग भने ।
बैठकमा सूर्य रोकाया, तुलसिराम थारु, मोहित शाह, कृष्ण कुमार लम्साल, रत्न खत्री, बसन्ती अधिकारी, कुलबहादुर भट्टराई, मुना कठायत, भीमराना भाट, दोण थापा, मानबहादुर खत्री, एन बहादुर हमाललगायत नेताहरूले आफ्ना धारणा राखेका थिए ।
एमाले किसान र मजदुरको पार्टी भए पनि यसपटक ती वर्गबाट अपेक्षित मत नआएको उल्लेख गर्दै गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखेका नेता सूर्य रोकायाले पूँजीपति र मजदुर दुवैले एउटै पार्टीलाई किन मत दिए भन्ने प्रश्न उठाए ।
भास्कर काफ्लेले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले निर्माण गरेका कार्यकर्ताहरू अझै पार्टीप्रति प्रतिबद्ध रहे पनि पछिल्लो समय तयार भएका कार्यकर्ताहरूमा त्यस्तो प्रतिबद्धता किन नदेखिएको भन्ने विषय उठाएका थिए ।
मुना कठायतले जिम्मेवारी पूरा गर्न नसक्नु, नेताहरू प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्नु र मतदातामा विश्वास कायम गर्न नसक्नु नै पराजयको प्रमुख कारण रहेको बताइन् ।
ऐन बहादुर हमालले एमाले, कांग्रेस र माओवादीका कार्यकर्ताहरूको मनोविज्ञान—पार्टी नबदल्ने तर मत परिवर्तन गर्ने प्रवृत्ति—नबुझी सही निष्कर्ष निकाल्न नसकिने धारणा व्यक्त गरे ।
कृष्ण कुमार लम्सालले नेपालको राजनीतिक इतिहासमा हरेक निर्वाचनले नयाँ सन्देश दिने गरेको उल्लेख गर्दै यसपटकको परिणामले जनताको अपेक्षा र मनोविज्ञान बुझ्न नसक्दा ठूला दलले समेत हार व्यहोर्नुपर्ने सन्देश दिएको बताए ।
दोण थापाले एमालेको पराजयका कारणहरूमा जनअपेक्षा र कार्यसम्पादनबीचको अन्तर, नेतृत्व र कार्यकर्ताबीच दूरी, गुटबन्दी, उम्मेदवार चयन विवाद, कमजोर प्रचार रणनीति, स्थानीय मुद्दाको बेवास्ता, युवापुस्तालाई आकर्षित गर्न नसक्नु र समयअनुसार रूपान्तरण हुन नसक्नु प्रमुख रहेको बताए ।
युवा नेता महेश चौधरीले कांग्रेस र एमालेले राजनीतिमा “नाटक” बढी गरेको टिप्पणी गर्दै मतदाताले त्यस्तो शैली मन नपराएको बताए । रत्न खत्रीले रास्वपालाई नीति तथा कार्यक्रमभन्दा पनि पुराना दललाई सच्याउन मत दिइएको विश्लेषण प्रस्तुत गरे ।
बैठकले आगामी दिनमा पार्टी संगठन सुदृढीकरण, जनविश्वास पुनःस्थापना र बदलिँदो राजनीतिक परिवेशअनुसार रणनीति परिमार्जन गर्नुपर्ने निष्कर्षसमेत निकालेको केन्द्रीय सदस्य ढकालले बताए ।





























