नेपालगन्ज– गुलरिया सडक अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण कार्य पुरा भएको छ । पुल सञ्चालनमा आएपछि वर्षौँदेखि सानो वर्षातमै सडक डुबानका कारण अवरुद्ध हुँदै आएको आवागमन सहज बनेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीका अनुसार, निर्माण कम्पनीको सक्रियता र नियमित अनुगमनका कारण निर्धारित समयअघि नै पुल सम्पन्न भएको हो । नारायणम निर्माण सेवाले भ्याटसहित करिब ८ करोड ९६ लाख रुपैयाँमा ठेक्का लिएको उक्त पुल ६ महिनाभित्रै तयार भएको हो ।
हाल सवारी साधन नयाँ पुलबाट सञ्चालन भइरहेका छन् भने पुलका दुवैतर्फ करिब १०० मिटर सडक कालोपत्रे गर्ने काम केही दिनमै पूरा हुने जनाइएको छ । २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको पुल निर्माणसँगै खजुरावासीले वर्षायाममा भोग्दै आएको समस्या अन्त्य भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।






























