सर्वोच्च अदालतले सार्वजनिक बिदाका दिनहरूमा पनि पक्राउ परेका व्यक्तिहरूको म्याद थप र पक्राउ पूर्जीको अनुमति जस्ता जरुरी न्यायिक कार्यहरू नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन मातहतका सबै अदालतहरूलाई निर्देशन दिएको छ।
नेपालको संविधानको धारा २० (३) ले व्यवस्था गरेको ‘पक्राउ परेको २४ घण्टाभित्र न्यायिक अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने’ मौलिक हकको कार्यान्वयनका लागि सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।
हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने नयाँ व्यवस्था र अन्य लामो बिदाका समयमा पनि न्याय सम्पादनमा बाधा नपुगोस् भनी ‘अदालत व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ बमोजिम देशभरका उच्च, जिल्ला, विशेष र अन्य न्यायाधिकरणहरूलाई बिदाको समयमा समेत म्याद थप र पक्राउ अनुमति सम्बन्धी सेवा सुचारु राख्न परिपत्र गरिएको छ।






























