आज जुन ३ अर्थात् विश्व साइकल दिवस। सन् २०१८ मा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा घोषणा गरेसँगै संसारभर विश्व साइकल दिवस मनाउने गरिएको छ।
आज नेपालगन्ज साइकलिङ क्लबको आयोजनामा सिटी राइडको आयोजना गरी विश्व साइकल दिवस मनाइएको क्लबका अध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए। अध्यक्ष बुढाथोकीका अनुसार सो अवसरमा नेपालगन्ज साइकलिङ क्लबका पूर्व अध्यक्ष एवं नेपाल साइकल महासङ्घका महासचिव सतीश निरौलाले साइकल अभियान, यसको महत्त्व र विश्व साइकल दिवसका सन्दर्भमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपालगन्ज उपमहानगरको मुख्यद्वारबाट सुरु भएर सहर परिक्रमा गरी कान्तितालमा पुगेर कार्यक्रम समापन गरिएको थियो। आजको कार्यक्रमले नेपालगन्जमा साइकल संस्कृतिको विकास, आम मानिसको साइकलप्रतिको रुचि वृद्धि तथा साइकल जागरणलाई महत्त्वपूर्ण टेवा पुर्याएको प्रतिक्रिया साइकल अभियानमा सक्रिय नेपालगन्ज धम्बोजी निवासी रमेशकुमार मल्लले बताउनुभयो।
त्यस्तै कार्यक्रममा सहभागी मुटुरोग विशेषज्ञ डा. बिपिन आचार्यले सहरमा देखिएको साइकल अभियान स्वास्थ्य र वातावरणका दृष्टिले अति नै महत्त्वपूर्ण रहेको बताउनुभयो। नियमित साइकल चलाउने नेपालगन्ज निवासी राजीव विक्रम शाहले आफू साइकलमा नियमित हिँडडुल गरिरहँदा निकै स्वस्थ र फुर्तिलो अनुभव गरेको सुनाउनुभयो। उहाँले पछिल्लो समय पेट्रोलको मूल्य ह्वात्तै बढेसँगै मोटरसाइकल थन्क्याएर आफ्नो दैनिकी साइकलमै बिताइरहेको समेत बताउनुभयो।
नेपाल साइकल महासङ्घको आह्वानसँगै देशका १६ वटा भन्दा बढी सहरहरूमा आज एकसाथ विश्व साइकल दिवसका विविध कार्यक्रमहरू सम्पन्न भएको जानकारी प्राप्त भएको प्रतिक्रिया नेपाल साइकल महासङ्घका महासचिव सतीश निरौलाले दिनुभएको छ।






























