नेपालगन्जका अस्पतालमा झाडापखाला र ज्वरोका बिरामीको चाप
नेपालगन्ज र आसपासका क्षेत्रमा पछिल्लो एक सातादेखि चलिरहेको तातो हावा ‘लु’ का कारण अत्यधिक गर्मी बढेपछि अस्पतालहरूमा बिरामीको संख्या ह्वात्तै बढ्न थालेको छ । झाडापखाला, ज्वरो, छालासम्बन्धी समस्या, रुघाखोकी तथा रक्तचाप घटबढका बिरामी उपचारका लागि दैनिक अस्पताल पुग्ने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
देशकै सबैभन्दा बढी गर्मी हुने स्थानमध्येमा पर्ने नेपालगन्जमा केही दिनयता तापक्रम अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष असर सर्वसाधारणको स्वास्थ्यमा देखिन थालेको चिकित्सकहरूको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरू बढी प्रभावित बनेका छन् ।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालले पछिल्ला दिनमा गर्मीका कारण बिरामीको चाप उल्लेख्य रूपमा बढेको बताए । उनले ‘पखाला लाग्ने, ज्वरो आउने र छालासम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या धेरै बढेको छ’ भने ।
डा. रिसालका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, रक्तचाप घटबढ हुने तथा संक्रमणजन्य समस्या देखिने गरेको छ । उनले ‘गर्मीका कारण छालामा विभिन्न समस्या देखिने, रुघाखोकी लाग्ने र ज्वरो आउने समस्या पनि बढेको छ’ बताए ।
निजी स्वास्थ्य संस्थाहरूमा पनि बिरामीको चाप बढिरहेको छ । सञ्जीवनी मेडिकल साइन्सेज प्रालिको नेपालगन्ज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाइले अहिले अस्पतालमा आउने अधिकांश बिरामी गर्मीकै असरबाट प्रभावित रहेको जनाए ।
उनले ‘विशेषगरी बालबालिका धेरै प्रभावित भएका छन् । अत्यधिक गर्मीका कारण उनीहरू छिटो बिरामी परिरहेका छन्’ भने । उनका अनुसार बालबालिकामा पखाला, ज्वरो र कमजोरीका समस्या बढी देखिन थालेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेले पनि जिल्लाभरिका स्वास्थ्य संस्थामा गर्मीबाट प्रभावित बिरामीको संख्या बढ्दै गएको जनाएको छ । कार्यालयका प्रमुख सुनिता पौडेलले नेपालगन्जसहित जिल्लाका सहरी र ग्रामीण क्षेत्रका अस्पताल तथा निजी क्लिनिकहरूमा बिरामीको चाप बढेको जानकारी आएको बताइन् ।
उनले ‘बालबालिका, वृद्धवृद्धा र अन्य महिला पुरुष गर्मीका कारण बिरामी भएर स्वास्थ्य संस्थामा पुग्ने क्रम बढिरहेको छ’ भनिन् । स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्वास्थ्य संस्थालाई थप तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।
पौडेलका अनुसार गर्मी अझै बढ्न सक्ने भएकाले बिरामीको संख्या पनि थप बढ्ने अनुमान गरिएको छ । त्यसलाई ध्यानमा राखेर आवश्यक औषधि, जनशक्ति र उपचार व्यवस्थापन तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थालाई भनिएको उनले बताइन् ।
चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन् । गर्मीबाट बच्न प्रशस्त पानी पिउन, झोलिलो तथा शीतल पेय पदार्थ सेवन गर्न र लामो समय घाममा नबस्न सुझाव दिइएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार अत्यधिक गर्मीका बेला सावधानी नअपनाउँदा डिहाइड्रेसन, पखाला, ज्वरो र छालासम्बन्धी संक्रमण तीव्र रूपमा बढ्ने जोखिम रहने गर्दछ ।






























