गत बिहीबार नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारको क्रममा शिला श्रेष्ठको मृत्यु भएको घटनामा पुनः निष्पक्ष छानबिनको माग गरिएको छ ।
मृतकका श्रीमान अमृत श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको वास्तविक कारण अझै स्पष्ट नभएको र सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको अवस्थामा उपचारमा प्रत्यक्ष संलग्न नरहेका डा. संजिव तिवारीले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा अनुसन्धान जारी रहेको अवस्थामा सार्वजनिक अभिव्यक्तिले छानबिन प्रक्रियालाई प्रभावित गर्न सक्ने तथा पीडित परिवारको न्यायप्रतिको अपेक्षामा प्रश्न उठाउन सक्ने उल्लेख गरिएको छ ।
श्रेष्ठले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, मृत्युको वास्तविक कारण खुलाउन तथा दोषी देखिने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग पुनः जोडदार माग गरेका छन् । उनले पीडित परिवारको न्यायको आवाज कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पनि बताएका छन् ।
उक्त घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसैबीच, नेपालगन्जस्थित केयर सिटी अस्पतालले आजदेखि नियमित ओपिडी (बहिरंग) सेवा पुनः सञ्चालनमा ल्याएको छ । अस्पतालमा गत बिहीबार भएको घटनापछि ओपिडीसहित सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
अस्पताल प्रशासनका अनुसार, तत्कालका लागि प्रसूति तथा स्त्रीरोग सम्बन्धी उपचार सेवा भने सञ्चालनमा ल्याइएको छैन ।






























