निजी क्षेत्रका रोजगारदाताहरूलाई ‘श्रम संसार प्रणाली’मा जोड्दै आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार नेपालगन्जमा छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले निजी क्षेत्रका रोजगारदाताहरू सँग सरोकारवालाहरूको पुलका रूपमा छलफलको आयोजना गरेको हो । ‘एकातिर निजी उद्योग, कलकारखानाले कामदार नपाएर उत्पादन ठप्प हुने अवस्था छ’, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले कार्यक्रमको औचित्यबारे भनिन्, ‘अर्को तिर बेरोजगारीको अवस्था भयावह छ, त्यसका लागि श्रम संसार प्रणाली मार्फत सहजीकरण गर्न खोजिएको हो ।’
नगर प्रवक्ता प्रमोद रिजालको अध्यक्षतामा भएको छलफलमा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मान बहादुर बमले निजी क्षेत्रको आवश्यकता पहिचान गरी रोजगारीमा सहयोग पुर्याउने उद्देश्यले श्रम संसार उपयोगी हुनसक्ने औंल्याए । कार्यक्रममा निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरूले धारणा राख्दै सरकारले आफ्ना लागि अपेक्षित भूमिका खेल्न नसकेको टिप्पणी गरेका थिए । उनीहरूले सरकारले दायरामा आउने उद्योग, धन्दा, कलकारखानाका लागि सहयोग पुर्याउनुको साटो विभिन्न बहानामा सताउने गरेको गुनासो गर्दै श्रमका क्षेत्रमा पनि अपेक्षित सहजीकरण नभएको गुनासो गरे ।
श्रम कार्यालयका प्रतिनिधिहरू समेत रहेको कार्यक्रममा होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले हजारौंलाई रोजगारी दिने होटल तथा पर्यटन क्षेत्रले स्थानीय सरकारले वेवास्ता गरेको टिप्पणी गरे । विषयवस्तु बारे आफ्ना धारणा राख्दै विषयविज्ञ हरि सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाले रोजगारका क्षेत्रमा तयार गरेको अध्ययनका आधारमा नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने सुझाए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओली, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।






























